जाजरकोट । पछिल्लो समय धेरै बालबालिकाहरुमा मोबाइलको लत बसेको देखिन्छ । उनीहरुले मोबाइलमा विभिन्न किसिमका कार्टुन, गेम, भिडीओहरु हेरेर नै मोबाइलमा गहिरो लत बसेको प्रष्ट देखिन्छ । बारेकोट गाउँपालिका—०४ का दिनेश सिंह पाँच बर्ष देखि सदरमुकाम बस्छन् । उनीका दुई छोराछोरी छन् । छोरालाई मोबाइलको साह्रै लत बसेको बताउँछन् । पाँच बर्षको उनको छोरा मोबाइल नहेरी खाना समेत नखाने गरेको बताउँछन् ।
उनले भने, ‘मोबाइलमा छोराछोरीको साह्रै लत बस्यो, म घर नहुँदा पहिला भिडीओ हेर्ने गथ्र्ये, अहिले त मोबाइल नभए खाना समेत खान समस्या मानिरहेका छन् ।’ उनका छोराछोरी उदाहरण मात्रै हुन् । अधिकांश बालबालिकाहरु मोबाइलको लतमा फसेका छन् ।
प्रविधिको विस्तारसँगै पछिल्लो समय सबैको हातहातमा मोबाइल फोन पुगेको छ । यसबाट विभिन्न सूचना आदानप्रदान तथा कुराकानीमा सहज त भएको छ, तर विभिन्न फाइदासँगै कतिपय अवस्थामा यसको सही सदुपयोग हुन नसक्दा हानी पनि हुने गरेको छ । मोबाइल फोनको बढ्दो प्रयोगसँगै पछिल्लो समय बालबालिकामा मोबाइलको लत बस्ने समस्या बढ्दै गएको छ । मोबाइलको बढी प्रयोग गर्नाले बालबालिकामा बोली ढिलो आउने र मोबाइलको लत बसेपछि मानसिक, शारीरिक तथा सर्वाङ्गीण विकासमा नै समस्या आउने गरेको छ ।
यद्यपि त्यो बालबालिकासँग मात्र जोडिएको नभई अभिभावकको आनीबानीसँग पनि सम्बन्धित रहेको छ । विभिन्न सामाजिक निकायहरुले केही समय अघि सूचना नै जारी गरेर बालबालिकामा मोबाइलको लत बस्न नदिन अभिभावकलाई सचेत रहन सुझाव दिईरहेका छन् । बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन्, अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्ने हुनसक्छ जसका कारण मोबाइलको लत बसेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझने समस्या देखिने गरेको डाक्टरहरुको भनाई छ ।
उनीहरु भन्छन्, ‘मोबाइलको लत बसेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छ । मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत बसेमा यसले बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुग्ने हुन्छ । त्यस्तै यो लत लामो समयसम्म बस्दै गएमा स्नायु रोग, मुटुको रोग, मिर्गौला सम्बन्धी रोग, कानमा असर, नपुंसकता, ब्रेन सम्बन्धी क्यान्सरलगायतका समस्या देखिने र स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्छ ।’
बालबालिकामा मोबाइलको लत कम गर्न सबैभन्दा प्रमुख भूमिका अभिभावकको हुने विज्ञहरू बताउँछन् । विज्ञहरूका अनुसार बालबालिका तथा किशोर किशोरीमा मोबाइलको लत अहिले विश्वव्यापी समस्याका रूपमा देखिएको छ । बालबालिकालाई मोबाइलको लत लागिसकेपछि बाहिर निस्कन गाह्रो हुने भएकाले मोबाइलको सही सदुपयोगका सम्बन्धमा अभिभावक जानकार हुनुपर्ने देखिन्छ । मोबाइलको लतले बालबालिकामा सकारात्मक भन्दा नकारात्मक असर बढी हुने भएकाले यसतर्फ समयमै सचेत रहन विज्ञहरुको सुझाव छ ।
मनोविदहरु भन्छन्, ‘बालबालिकासँग अन्तरक्रिया गरेर, उनीहरूका साथीहरूसँग घुलमिल हुन दिएर नै बालबालिकाको सर्वाङ्गीण विकास हुने गर्दछ, त्यसकारण बालबालिकामा मोबाइलको लत बस्न नदिन अभिभावक सचेत हुनुपर्ने हुन्छ ।’
उनीहरु भन्छन्, ‘बालबालिकाको हकमा मोबाइलको प्रयोग सूचनाको जानकारीका लागि भन्दा पनि मनोरञ्जनको साधनका रुपमा र बालबालिकालाई भुलाउने माध्यमको रुपमा अभिभावकले प्रयोग गरिरहेको पाइएको छ । यसबाट राम्रो परिणाम आउँदैन ।’
सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ । स्थानीय सरकारले मोबाइलको लतबाट हुने असर र त्यसलाई कम गर्न अभिभावकले गर्नुपर्ने कामबारे सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको पनि विज्ञहरुको धारणा छ । त्यस्तै, सरकारले नेपालमा कति स्क्रिन टाइम उपयुक्त हो भन्ने मापदण्ड बनाउनुपर्ने र त्यो पालना गर्न सबैलाई उत्प्रेरित गर्नुपर्ने विज्ञहरूको सुझाव छ । हामी अभिभावक आफ्नो बच्चाले ’जोनी जोनी एस पापा इटिङ सुगर नो पापा’ गाउँदै गर्दा खुसी भएको पक्कै देखेका छौं ।
तर, यो परिवेश सायद गाउँघरमाभन्दा सहरी क्षेत्र अथवा मोबाइल र इन्टरनेटको पहुँच भएको स्थानमा बढी छ । सहज उपलब्ध हुने इन्टरनेट जडित मोबाइल र टिभीले हाल बालबालिकालाई खेलाउन, खुवाउन र भुलाउन निकै सजिलो त गरेको छ । तर, मोबाइल र टिभीको अत्यधिक प्रयोगले बालबालिकाको विकास र मानसिक स्वास्थ्यमा हुनसक्ने ढिलाइ र समस्याबारे सचेत हुनुका साथै यसको चेतना अभिभावकमा हुन पनि आवश्यक छ ।
स्क्रिन भएका इलेक्ट्रोनिक वस्तुभन्दा बालबालिकाको विकासका लागि भौतिक क्रियाकलाप, अन्तरक्रिया र सामूहिक भौतिक खेल धेरै महत्त्वपूर्ण छन् । दुई वर्षभन्दा मुनिका बालबालिकामा सिक्ने जान्ने र बुझ्ने सिप विकास चाँडो र धेरै हुने विज्ञानले बताउँछ । बालबालिकालाई विभिन्न जीवन उपयोगी सिपहरु सिक्न धेरै दृश्य, आवाज, स्वाद र बनावटको अनुभव हुन महत्त्वपूर्ण हुन्छ । स्क्रिन भएका वस्तुले बालबालिकालाई मनोरञ्जन, सिकाउन र व्यस्त राख्न सक्ने भएतापनि यसको धेरै प्रयोगले विभिन्न किसिमका शारीरिक, मानसिक तथा व्यवहारिक समस्या निम्त्याउन सक्छ । त्यसैले बाल विशेषज्ञहरू बालबालिकाले स्क्रिनको अगाडि बिताउने समय उमेर अनुरुप सीमित गर्न सिफारिस गर्छन् ।
केहो स्क्रिन टाइम ?
‘स्क्रिन टाइम’ भन्नाले टिभी, मोबाइल, ट्याबलेट, कम्प्युटर आदिको स्क्रिनमा हेरी वा प्रयोग गरी बिताउने समय हो । विश्व स्वास्थय संगठन (डब्लूएचओ) तथा अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले (एएपी) ले स्क्रिन टाइमबारे धेरै सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य संगठनले उमेर अनुसार स्क्रिन टाइम सिफारिस गरेको छ । जसमा शिशुले (१ वर्ष भन्दा कम उमेर) स्क्रिन हेर्नै नहुने बताउँछ भने दुई वर्षका बालबालिकाका लागि बढीमा एक घन्टा वा त्योभन्दा कम र ३ देखि ४ वर्षका बालबालिकामा एक घण्टासम्म हेर्न मिल्ने बताउँछ ।
यस्तै, अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) ले १८ महिनाभन्दा कम उमेरका बच्चालाई स्क्रिन हेर्नै नदिन सिफारिस गर्छ । अभिभावक टाढा भएको अवस्थामा भिडियो च्याट गर्न छोटो समय भिडियो च्याटका लागि मात्र प्रयोग गर्न सक्ने बताउँछ । १८ महिनादेखि २४ महिनासम्मका बालबालिकाले अभिभावक वा हेरचाहकर्तासँग ज्ञानमूलक स्क्रिन समय सुरु गर्न सक्छन् भने २ देखि ५ वर्ष सम्मका बालबालिकाले स्क्रिन समय बढीमा दिनको एक घण्टा र छुट्टीको दिनमा ३ घण्टासम्म गर्नसक्ने बताउँछ ।
ढिलो बोल्ने, सुनेका कुरा मात्र बोल्ने, खाना चपाएर नखाने, खाना मुखमा हालिरहने, व्यवहारमा परिवर्तन आउने, जिद्दी स्वाभाव हुने, अरुसँग घुलमिल हुन अप्ठ्यारो मान्ने, वजन बढ्ने, बाहिर खेल्न जान नरुचाउने, लेख्न गाह्रो हुने, पढनमा ध्यान दिन नसक्ने, शैक्षिक प्रदर्शनमा कमी आउने, सामाजिक अन्तरक्रिया कम हुने, निदाउन गाह्रो हुने, कम समय सुत्ने, परिवार र साथीहरूप्रति प्रेम र संलग्नता कम हुने आदि ।
सन् २०१८ मा नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) को अध्ययनको प्रारम्भिक तथ्याङ्कले स्क्रिन टाइम दिनमा दुई घण्टाभन्दा बढी भएका बालबालिकामा भाषा र सोच परीक्षणमा गर्दा कम अंक आएको देखिएको थियो । यस्तै सात घण्टाभन्दा बढी स्क्रिन टाइम भएका बालबालिकामा मस्तिष्कको कर्टेक्ससमेत पातलो भएको तथ्यांकमा देखिएको जनाएको छ ।
बालबालिकाको स्क्रिन टाइम व्यवस्थापन गर्नु परिवारका लागि चुनौतीपूर्ण छ । यद्यपि यसको व्यवस्थापन गर्न ढिला हुँदा समस्याहरु अझ थपिँदै जान सक्छ । यसबारे सजक रही समाधान गर्न पहल गर्नु उपयुक्त हुन्छ । यो एकै दिन वा हप्तामा सम्भव हुँदैन । यसका लागि धैर्यता र निरन्तर कोसिस आवश्यक पर्छ ।
हाम्रो पहुँच संवाददाता । १४ फाल्गुन २०८०, सोमबार