नगरबासीको ‘सहयात्री नगरबस’

जाजरकोट । भेरी नगरपालिका —०२ तिमिलेका पुष्प वली सदरमुकाम खलंगामा बस्छन् । पढाईको सिलशिलामा सदरमुकाम बस्दै आएका उनी प्रत्येक शनिवार घरायसी काममा बाआमालाई सघाउन घर पुग्छन् । भेरी नगरपालिकाले सुरु गरेको नगर वसमा आवतजावत गर्छन् । नगर बस सुरु हुनुभन्दा पहिले वलीलाई घर पुग्न साह्रै समस्या हुने गरेको बताउँछन् । ‘पहिले घर जान निकै समस्या थियो, सार्वजनिक गाडी समयमा जाँदैन्थे, निजी गाडीले महंगो भाडा लिन्थ्र्याे, उनले भने, ‘अहिले नगरवस सरु भएपछि घर पुग्न निकै सजिलो भएको छ ।’ नगरवस समयमै गाउँमा पुग्ने भएपछि आवतजावतमा निकै सजिलो भएको वलीले बताए ।

कुशे गाउँपालिका —०५ खुर्पाका रामबहादुर सिंह पाँचकाटिया बाट भेरी नगरको वस चढेर सदरमुकाम पुगे । ‘पहिले गाडीमा कोचाकोच हुन्थ्र्याे, अहिले पाँचकाटिया बाट नगरवसमा आरामदायी तरिकाले आउन सकिन्छ, उनले भने, ‘भेरी नगरपालिकाले वस सञ्चालनमा ल्याएपछि निकै राहत भएको छ ।’ नगर वसले कुशे गाउँपालिकाका स्थानीयलाई समेत निकै सजिलो बनाएको सिंहले बताए ।

‘कुशे गाउँपालिकाका स्थानीय पाँचकाटिया वास बस्छन्, विहानै बस चढेर सदरमुकाम आउँछन् उनले थपे, अफिसको काम सकेर वेलुका फर्कन्छन् ।’ भेरी नगरपालिकाको नगर वसले नगरवासीलाई मात्र होइन् अन्य स्थानीय तहका वासिन्दालाई समेत आवतजावतमा सहज बनाईदिएको छ । नलगाड नगरपालिकाको कालिमाटी देखि नगर वसमा यात्रा गर्न पाउँदा निकै खुशी भएको बारेकोट— ०२ का भीमबहादुर विकले बताए । भेरी नगरपालिकाको सिको अन्य स्थानीय तहले गर्नुपर्ने विकको भनाई छ ।

छेडागाड, शिवालय, कुशे र नलगाडका स्थानीयलाई समेत नगरवसले राहत प्रदान गरेको छ । भेरी नगरपालिका —०८ गिमका दीपेन्द्र विश्वकर्मा पहिले नगरपालिका आउन घण्टौं सडकमा कुरेर पनि गाडीमा सीट पाउन मुस्किल भएको बताए । ‘नगरपालिकाले नगर वस सञ्चालन गरेपछि घडी हेरेर सडकमा बस्यो, नगर वस आउँछ, चढेर खलंगा आउँछौं, उनले भने, ‘विहान आएर अफिसको काम सकेर बेलुका समयमै घर पुग्छौं ।’ भेरी नगरपालिकाले नगर वस सञ्चालनमा ल्याएपछि नगरवासीलाई निकै राहत पुगेको भेरी नगरपालिका — ०९ का वडाध्यक्ष हिरा प्रसाद शर्माले बताए । ‘नगर वासीको यात्राको सहयात्री नगर वस बनिरहेको छ, उनले भने, ‘अहिले नगर वसले यात्रामा निकै सहज बनाएको छ, विहान आएर काम सकेर बेलुका समयमै घर पुग्न निकै सहज भएको छ ।’

नगरबासीहरु निकै खुशी देखिन्छन् । नगरपालिकाले दुई वटा नगर वस सञ्चालनमा ल्याएको छ । करिव ३५ जना भन्दा यात्रुहरु अट्ने नगरवस सञ्चालनमा ल्याएको छ । नगरपालिकाले नगर वस सञ्चालन मात्र गर्नु ठूलो कुरा नभई यसलाई दिगो रुपमा टिकाईरहनु ठूलो कुरा भएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । उनले भने, ‘हामीलाई अहिले चुनौती थपिएको छ, यसलाई कसरी दिगो रुपमा सञ्चालन गर्न सकिन्छ ।’ भेरी नगरपालिका भित्र छरिएर रहेको वस्ती, टोल र गाउँ छन्, त्यहाँका वासीन्दाहरुलाई नगरवसले ठूलो राहत गरेको प्रमुख घर्तीले विश्वास व्यक्त गरे । यसको दिगोपनका लागि नगरपालिकाले निश्चित कार्यविधी बनाएर अघि बढ्ने समेत घर्तीले बताए । ।

सदरमुकाम खलंगामा आउन जानका लागि गाडी नै नपाउने पाएपनि महंगो भाडा तिर्दै आएका पाँचकाटिया लगाएत कुशे गाउँपालिकाका नागरिकहरु नगर बस नियमित हुने भएपछि खुशी भएका हुन् ।

भेरी नगरपालिकाले संचालन गरेका २ वटा नगर बस छुट्टाछुट्टै २ वटा रुटमा संचालन भईरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । अधिकृत घर्तीका अनुसार एउटा बस बिहान ७ बजे कार्कीगाउँ देखि खलंगा र खलंगा देखि रिम्ना हुदै कालीमाटी पुगेर कार्कीगाउँ फर्किने छ भने अर्को बस पाँचकाटिया देखि खलंगा, कुदु हुँदै छेडा बजार पुगेर फर्किनेछ ।

नगर बसको भाडा भने यसअघि कै जिल्लाको भाडादर कायम गरिएको छ । नगर बसमा महिला, जेष्ठ नागरिक र अपाङ्कता भएका व्यक्तिका लागि आरक्षण सिटको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया