अस्थायी आवास निर्माणको गति सुस्त, १४ हजार बढीले अझै पाएनन् पहिलो किस्ता


जाजरकोट । अस्थायी आवास निर्माणको गति सुस्त देखिएको छ । तीन महिना पुग्नै लाग्दा समेत अझै १४ हजार बढीले पहिलो किस्ता समेत पाउन सकेका छैनन् । भूकम्पपीडितका लागि प्राप्त अस्थायी आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ । नेपाल सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहमा रकम पठाएको छ । भूकम्प गएको करिब ८२ दिन बित्दासमेत लाभग्राही सूचीकृतले रकम पाउन सकेका छैनन् । पुस माघको जाडोमा समेत भूकम्पपीडित त्रिपालमा बस्दै आएका छन् । स्थानीय तहको ढिलासुस्तीका कारण अनुदान रकम नपाएपछि भूकम्पपीडित बिचल्लीमा परेका छन् ।

नेपाल सरकारबाट जिल्ला विपत् व्यवस्थापन कोषमा भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न जनही २५ हजार रुपियाँका दरले रकम प्राप्त भएको छ । जिल्लामा ४२ हजार ५२४ लाभग्राही कायम छन् । पहिलो किस्ता रकमका लागि २९ हजार ३२३ लाभग्राहीले स्थानीय तहमा सम्झौता गरेका छन् । तिनीहरूमध्ये २८ हजार ३७६ लाभग्राहीले पहिलो किस्ता रकम २५ हजारका दरले ७० करोड ९४ लाख रुपैयाँ वितरण भइसकेको जनाइएको छ । भेरी, नलगाड, छेडागाड नगरपालिका, बारेकोट, कुशे, शिवालय, जुनीचाँदे गाउँपालिकाले पहिलो किस्ता रकम वितरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार नेपाल सरकारको अनुदान सहयोगबाट माघ १२ गतेसम्म १२ हजार ४९६ जना, सहयोगी निकायबाट ५२२ गरी जम्मा १३ हजार १८ अस्थायी आवास निर्माण भएको छ । नेपाल सरकारबाट जिल्ला विपत् व्यवस्थापन कोषमा भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न प्राप्त एक अर्ब तीन करोड ४१ लाख ७५ हजार रुपैयाँ स्थानीय तहको विपत् व्यवस्थापन समितिको खातामा पठाइसकेको प्रशासकीय अधिकृत शर्माले बताए ।

पालिकाको खातामा रकम जम्मा भए पनि लाभग्राहीले नपाउँदा पीडित त्रिपालमुनि बस्नु परेको छ । स्थानीय सरकारले पीडितका लागि आएको रकम छिटोछरितो नदिँदा झन्झटिलो प्रक्रियाका कारण बैङ्कले समयमा निकासा नदिएपछि प्रभावित समस्यामा परेका छन् । भेरी नगरपालिका–१, मैदेका सन्तोष रानाले भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सरकारले दिएको रकम स्थानीय सरकारको ढिलासुस्तीका कारण त्रिपालमा बस्नु परेको बताए  ।

पाँच हजार ४०६ लाभग्राही कायम भएको जुनीचाँदे गाउँपालिकामा एक हजार २२८ घरपरिवारले पहिलो किस्ता रकम निकासाका लागि सम्झौता गरेका छन्  । लाभग्राहीलाई पालिकाले पहिलो किस्ताको तीन करोड सात लाख रुपियाँ वितरण गरे पनि अस्थायी आवास निर्माण हुन नसकेको बताइन्छ । ४२ हजार ५२४ लाभग्राहीमध्ये १४ हजार ८०९ जना लाभग्राहीले अहिलेसम्म पहिलो किस्ता रकम पाएका छैनन् । हिउँद सकिन लाग्दा पनि अस्थायी आवासका लागि आएको पहिलो किस्ता पाउनै मुस्किल भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया