जाजरकोट । भेरी नगरपालिका — ०२ रिसाङका कर्णबहादुर शाहीले बारीमा टन्नै मूलाको खेती गरेका छन् । उनको बारीमा सोचे भन्दा राम्रो मूला उत्पादन भएको छ । केही दिन अघि कृषि मेला प्रर्दशनीको सूचना पाए । विहीबार आफ्नो बारीमा उत्पादन भएको मूला र काउली बोकेर प्रर्दशनी स्थल गैरीखालीमा पुगे ।
‘आफ्नो बारीमा उत्पादन भएको तरकारी सबैलाई देखाउन पाएकोमा गर्व लागेको छ’, उनले भने, ‘मेरो बारीमा उत्पादन भएको तरकारी देखाउन पाउँदा निकै खुशी छु, कृषि पेशामा केही गरौ भन्ने प्रेरणा समेत जागेको छ ।’ आफ्नो बारीमा फलेको मात्र नभई अरुको बारीमा फलेको तरकारी हेर्ने अवसर मिलेको उनले बताए । यस्ता कार्यक्रम वेलावखतमा हुनुपर्ने उनको भनाई छ ।
भेरी नगरपालिका —०१ पिपेका बहादुर रानाले व्यवसायिक रुपमा फलफूल खेतीको सुरु गरेका छन् । उनको खेतवारीमा सुन्तला र अमिलाका बोटहरु मात्रै छन् । परम्परागत रुपमा गरिने खेती भन्दा उनी फलफूल खेतीप्रति आर्कषित छन् । कृषि मेला प्रर्दशनीमा बारीमा फलेको अमिला र सुन्तला बोकेर उनी यहाँ आएका छन् । ‘बारीमा फलेको अमिला विक्री भएको छैन्, घरमा थन्क्याएर आएको छु’, उनले भने, ‘यहाँ प्रर्दशनीमा प्रर्दशन गरेर आफ्नो प्रचार गरिरहेको छु । प्रर्दशनीमा फलफूलको प्रचार गर्दा आफु निकै खुशी भएको उनले बताए । अमिलाले बजार नपाएको समेत रानाले गुनासो गरे ।
कुशे गाउँपालिका —०५ पाँचकाटियाका पुर्णबहादुर खत्रीले आफैले बारीमा फलाएको आलु कृषि मेलामा राखेका छन् । स्थानीय रेडियो मार्फत सूचना पाएर उनी कृषि प्रर्दशनी मेलामा सहभागी भए । सहभागी भएर प्रर्दशनी गर्न पाउँदा आफु निकै खुशी भएको उनले बताए । ‘मलाई निकै खुशी लागेको छ, मैले उत्पादन गरेको आलु देखाउन पाउँदा’ उनले भने, ‘यस्ता कार्यक्रम जसरी भएपनि पटकपटक गर्नुपर्ने देखिन्छ ।’ ‘पहिले रमाइलो मेला लाग्थ्यो त्यहाँ हामीले उत्पादन गरेका तरकारी प्रर्दशन गथ्र्याै, उनले थपे, ‘अहिले यहाँ भएको कार्यक्रममा प्रर्दशनीमा राखेको छु ।’ उनीहरु जस्तै जाजरकोटमा उत्पादन भएका कृषि उजपहरु प्रर्दशनी मेलामा राखिएको छ ।
कृषकले उत्पादन गरेका तरकारी, फलफूल लगायतका उत्पादित सामग्री कृषि मेला प्रर्दशनीमा राखिएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आफ्नो पहिलो बार्षिक उत्सवको अवसरमा कृषि मेला प्रर्दशनीको आयोजना गरेको छ । माघ ११÷२२ गते दुई दिन सम्म चल्ने प्रर्दशनी मेलामा किसानले उत्पादन गरेको कृषि उपज प्रर्दशनीमा राखिएको प्रतिष्ठाका अध्यक्ष जनक केसीले बताए । यसको सहजीकरण कृषि विकास कार्यालय जाजरकोटले गरेको छ । किसानले उत्पादन गरेको वस्तुको प्रर्दशनी भईरहेको कार्यालयका प्राविधिक सहायक सन्देश शर्माले बताए ।
यस्तै, प्रर्दशनी मेलामा जाजरकोटका उद्यमीहरुले उत्पादन गरेका समानहरुको प्रर्दशनी गरिएको छ । अल्लो बाट बनेका समानहरु, सिले ढुङ्गा, खुकुरी, हाँसिया आदिको प्रर्दशनी गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख महेन्द्र भडेलले बताए । प्रतिष्ठानले नयाँ कामको थालनी गरेको समाजसेवी खम्बजंग शाहले बताए । उनले भने, ‘अहिले जाजरकोटका कृषकहरुले बजारमा प्रर्दशन गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।’ भूकम्पले थिलोथिलो बनाएको जाजरकोटमा प्रर्दशनी मेलाले नयाँ आयाम थपेको सरोकारवालाको ठम्मयाई छ ।
हाम्रो पहुँच संवाददाता । १२ माघ २०८०, शुक्रबार