काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ। बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो।
राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी हुनुभएको छ।
मधेस प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित हुनुभयो।
त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली कांग्रेसका पदमबहादुर परियार, नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित हुनुभयो।
लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित हुनुभएको छ।
कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समाजवादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ।
सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेणु चन्द निर्वाचित हुनुभएको छ।
राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो। जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ।
त्यस्तै जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ।
प्रेस विज्ञप्ति
मितिः २०८०।१०।११
राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको सम्वन्धमा
आज मिति २०८०/१०/११ गते विहिवार पूर्वनिर्धारित कार्यक्रम अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयहरुबाट मतगणनाको नतिजा प्राप्त भएको छ ।
प्राप्त विवरण अनुसार कोशी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको श्री रुकमिणी कोइरालाले प्रदेश सभा सदस्य तर्फको ४९ मतको २५९७ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १३१ मतको २४८९ मतभार प्राप्त गर्नु भई कूल १८० मतको सबैभन्दा बढी कूल ५०८६ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ ।
कोशी प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेस दलको श्री कृष्णप्रसाद सिटौलाले प्रदेश सभा सदस्यतर्फको ४५ मतको २३८५ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १५३ मतको २९०७ मतभार प्राप्त गर्नु भई कूल १९८ मतको सबैभन्दा बढी कूल ५२९२ मतभार प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
हाम्रो पहुँच संवाददाता । ११ माघ २०८०, बिहीबार