जाजरकोट । चालु आर्थिक बर्षको हाल सम्म जाजरकोट बाट आठ करोड १६ लाख ६८ हजार मूल्य बराबरको खाद्यान्न निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय जाजरकोटले संकलन गरेको अर्धबार्षिक विवरण अनुसार आठ करोड १६ लाख ६८ हजार मूल्य बराबरको खाद्यान्न निर्यात गरिएको हो ।
कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माका अनुसार खाद्यान्न तर्फको मकै मात्रै ९५ लाख मूल्य बराबरको जिल्ला बाहिर निर्यात गरिएको छ । रुकुम पश्मिको चौरजहारी,सल्यान, राडीबजार, स्यानीपिप्ली सहितका ठाउँमा ४५ लाख बराबरको तरकारी निर्यात भएको सूचना अधिकारी विश्वकर्माले बताए । घरेलु मह २ करोड ४० लाख मूल्य बराबरको मह र ५० लाख भन्दा बढी भीर मौरीको मह विक्री वितरण गरिएको छ ।
यस्तै, जिल्ला बाहिर निर्यात हुनेमा ४८ हजार बराबरको कोदो, १ लाख ९० हजार बढीको मसुरो, ९० हजार बढीको मास, २४ लाख बढीको तिल निर्यात भएको विश्वकर्माले बताए । भटमास १२० मेट्रिक्टन उत्पादन भएको थियो । १ करोड २६ लाख बढी मूल्यको भटमास जिल्ला बाहिर गएको छ ।
१ करोड ५० लाख बढीको लसुन जिल्ला बाहिर निर्यात भएको कार्यालयको तथ्यांकमा छ । जिल्लामा विभिन्न खाद्य, तरकारी, फलफूल गरी ८ हजार ८५ मेट्रिक्टन खाद्यान्न उत्पादन भएको थियो । निर्यात हुने खाद्य तथा कृषि वस्तुको मुख्य बजार नेपालगञ्ज, सुर्खेत, चितवन, काठमाडौं, धनगढी, पोखरा, वीरगञ्ज लगायत सहर हुन् । विश्वकर्माले भने, ‘अहिले यहाँको उत्पादन बढेको देखिन्छ, अनुदान, सिंचाई क्षेत्रको विस्तारले गर्दा यहाँको उत्पादन बढेको छ ।’
हाम्रो पहुँच संवाददाता । ९ माघ २०८०, मंगलवार