बजारमा जस्तापाता विक्रीमा होडबाजी : कमसल जस्ताको व्यापार, उपभोक्ता मारमा

मुल्य नै फरक, उत्पादन मिति गायव

No description available.

जाजरकोट । गत कार्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्यूडको भूकम्प गयो । भूकम्पका कारण ठूलो जनधनको क्षति भयो । जाजरकोटमा मात्रै ३५ हजार १४० घरपरिवार प्रभावित बने । भूकम्पका कारण कतिपयले सपरिवार गुमाए ।

त्यो सँगै बर्षाै देखि बस्दै आएको घर पूर्णरुपमा क्षति भयो । स्थानीयहरु अहिले पनि त्रिपालको साहारामा बाँचिरहेका छन् । भूकम्प गएको हप्ता दिन नवित्दै सरकारले अस्थायी आवास निर्माणका लागि कार्यविधी बनायो । एक महिना भित्रै त्रिपाल बाट अस्थायी आवासमा सार्ने घोषणा ग¥र्यो । तर दुई महिना भन्दा बढीको समय वित्यो ।

अहिले पनि अधिकांश भूकम्प पीडितहरु त्रिपाल भित्रै जीवन काटिरहेका छन् । अहिले अस्थायी आवास निर्माणको काम धमाधम चलिरहेको छ । यो सँगै बजारमा जस्ता पाताहरु वितरणको होडबाजी चलिरहेको छ । व्यापारीहरु वीचको प्रतिस्पर्धा चलिरहेको देखिन्छ । व्यापारीहरुको प्रतिस्पर्धाले उपभोक्ताहरु मारमा परेका छन् । कतिपय जस्ता पाता निर्माण कम्पनीहरु बाट खरिद गरिएका पाताहरुको तौल, लम्बाई, चौडाई समेत पुगेको देखिदैन् । तर पनि बजारमा छ्यापछ्यापी वितरण गरिएको भेरी नगरपालिका —०३ का विश्व विक्रम शाहले बताए । ‘कति केजी तौला छ भन्नै नै थाहा छैन्, तर पनि व्यापारीहरुले धमाधम वितरण गरिएका छन’्, उनले भने, ‘उपभोक्ताहरुलाई ठगिरहेको प्रस्ट देखिन्छ ।’

कमसल जस्ता पाताहरु कतिपय संस्थाहरुले खरिद गरिरहेको समेत शाहले बताए । अहिले जाजरकोटका गाउँगाउँमा जस्तापाताहरु पुगेका छन् । ति पाताहरुमा क्वालिटी र क्वान्टीटी पुगेकै छैन् । व्यापारीहरुले ब्रहम लुट मच्याईरहेका छन् । हार्ववेयर पसल दर्ता नै नगरेका किराना पसलहरुले जस्तापाताको विक्री वितरण गरिरहेको देखिन्छ । जस्तापाताको उत्पादन मिति समेत गायव राखेर व्यापारीहरुले विक्री वितरण गरिरहेको बारेकोट —०४ का मोहन सिंहले बताए ।

‘अनुगमन अनिवार्य हुनुपर्छ’
बजारमा जस्तापाता कमसल खालको विक्री वितरण भईरहेको भन्ने गुनासो आईरहेको छ । बजारमा आईरहेका जस्तापाताहरु मापदण्ड अनुसारका छन् की छैनन् अनुगमन हुन जरुरी रहेको पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले बताए । जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले यसको अनुगमन गर्न जुरुरी रहेको अध्यक्ष शर्माले बताए । यस्तै, पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष सहदेव बस्नेतले जस्तापाताहरुमा निकै ठूलो प्रतिस्पर्धा भईरहेको बताए ।

व्यापारीहरुले बनेको मिति, लम्बाई तौल नभएका मापदण्ड विपरितका जस्तापाताहरु वितरण गरेको बताए । कुन कम्पनीमा बनेको हो भन्ने समेत थाहा नपाउने गरी व्यापारीहरुले विक्री वितरण गरेको भन्ने गुनासो आईरहेको छ । विपद्को वेला बजारमा ठूलो कालोबजारी रोक्न स्थानीय प्रशासनले जोड गर्न सरोकारवाहरुको माग छ । कतिपय ठाउँमा जनप्रतिनिधी आफैले स्थानीय सँग पैसा उठाएर जस्तापाता खरिद गरिरहेको पाईएको छ ।

हरिश्चन्द्र शर्मा

हामी विभाग सँग समन्वय गर्छौं : सहायक प्रजिअ शर्मा
जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले नेपाल गुणस्तर तथा नापतौल विभाग सँग समन्वय गर्ने बताएका छन् । ‘हामीले मात्रै यसको निगरानी गर्न सक्दैनौ, विभागको सहयोग चाहिन्छ’ उनले भने, ‘बजारमा यस्तै देखिरहेको छ भने विभाग सँग समन्वय गरी तत्काल अनुगमनका साथै छानविन गर्ने प्रक्रिया अघि बढ्छ ।’

यस भन्दा पहिले पनि प्रदेश स्तरीय कार्यालय सँग छलफल गरेको समेत शर्माले बताए । गुणस्तर मापनका कुरा विभागले गर्ने भएकोले विभाग सँग समन्वय गरेर काम गर्ने जानकारी दिए ।

९ हजार ६ सय ३८ अस्थायी आवास निर्माण
जिल्लाभर हाल सम्म ९ हजार ६ सय ३८ अस्थायी आवास निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको विहीबार सम्मको तथ्यांक अनुसार सात वटै पालिकामा ९ हजार ६ सय ३८ अस्थायी आवास निर्माण गरिएको हो । भेरी नगरपालिकामा ४ सय ९२, नलगाड नगरपालिकामा ६ हजार ३ सय १२, छेडागाड नगरपालिकामा ३७२, बारेकोट गाउँपालिकामा १ हजार ६ सय ३१, कुशे गाउँपालिकामा १०८, शिवालय गाउँपालिकामा ७२३ वटा बनेका छन् । जुनीचाँदे गाउँपालिकामा भने अहिले सम्म एउटा पनि अस्थायी आवास निर्माण गरिएको छैन् ।

तपाईको प्रतिक्रिया