खेतमै सुक्न थाले ‘हिउँदे बाली’

No description available.
जाजरकोट । हिउँदे वर्षा नभएपछि जाजरकोट यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समय देखि नै परेको खडेरीका कारण लगाइएकोे बाली समेत सुक्न थालेको छ ।

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको बारेकोट गाउँपालिका — ०४ का मालबहादुर सिंहले बताए ।

आकासे पानीको भरमा खेती गरिने जिल्लाको अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो बाली सुक्न थालेको छ । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको उनको भनाई छ ।

सिँचाइको सुविधा नभएको उक्त क्षेत्रमा हिउँदेबाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको सोही ठाउँका अर्का किसान धनराज तिरुवाले बताए । जिल्लाको अन्य क्षेत्रमासमेत बाली सुक्न थालेको किसानहरुले बताएका छन् । कतिपय ठाउँमा सिँचाइको लागि पानी भएपनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् । बर्षे बालीमा समेत वन्यजन्तुले क्षति गरेका कारण खासै उत्पादन नभएको र हिउँदेबाली खडेरीले सुक्न थालेपछि चिन्तित भएका जाजरकोटका किसानले सिँचाइको लागि स्थानीय सरकारले उपयुक्त व्यवस्था गर्न नसकेको गुनासो गरे ।

तपाईको प्रतिक्रिया