जाजरकोट–डोल्पा सडक खण्डमा चन्दा माग्दै सडक अवरोध


जाजरकोट । भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा निर्माण व्यवसायीसँग चन्दा माग्दै सडक अवरुद्ध पारिएको छ । शुक्रबार अपरान्ह ४ बजेतिर निर्माणस्थलमा पुगेका ३–४ जना युवाले सडक निर्माणको काम गरिरहेका सवारीसाधनका साँचो झिकेर काममा अवरोध गरेको बताइएको छ ।

नलगाड नगरपालिका–७ दानीपिपलमा स्थानीय युवाले आर्थिक सहयोग मागेको र उक्त रकम नदिँदा सडक खनिरहेका साधनको साँचो झिकिएको निर्माण कम्पनीका साइट इन्चार्ज पतिराम रोकाले बताए । ‘बेला बेलामा विभिन्न खाले सहयोग माग्नेहरुलाई सकेको सहयोग गरिएकै हो । तर यो चाहिँ अति भएपछि हामी दिएनौं । अनि हाम्रा सवारीको चाबी तानिदिए,’ उनले भने ।
यस खण्डमा श्रेष्ठ कन्ट्रक्सन मार्फत यती विल्डर्सले सडक कालोपत्रेको काम गरिरहेको छ । आफ्ना स्काभेटर, भ्याकुलोडर, ट्याक्टर र टिपर गरी ४ वटा सवारीसाधन रोकेको इन्चार्ज रोकाको भनाइ छ । बिच सडकमै सवारीसाधनहरु रोकिँदा अन्य सवारीसाधन समेत आउजाउ गर्न सकेका छैनन् ।

काम गरिरहेका बेला विभिन्न नाम र बहानामा धम्क्याउने र रकम माग्दै काममा नै अवरोध गर्ने कार्य सधैंका लागि समाधान गरेर बिना त्रास काम गर्ने वातावतरण मिलाउन प्रशासनसँग निर्माण व्यवयायीले माग गरेका छन् ।

यस विषयमा जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले केही युवाले काममा अवरोध गरेको जानकारी आएको बताउँदै उनीहरूको खोजी भइरहेको जानकारी दिए । उनले भने, ‘निर्माण कार्य नै रोक्नु भनेको गम्भीर कुरा हो । यो गलत काम गर्नेको खोजी भइरहेको छ । पक्राउ गरेर आवश्यक कारबाही गर्छौं ।’

तपाईको प्रतिक्रिया