जाजरकोट । भूकम्प प्रभावितलाई अस्थायी आवासको अनुदान उपलब्ध गराउने सरकारी निर्णयपछि बैङ्क र पालिकामा लाभग्राहीको भिड लाग्ने गरेको छ । सरकारले पहिलो किस्ताबापतको २५ हजार रुपियाँ स्थानीय तहको विपत् व्यवस्थापन समितिको खातामा पठाएपछि लाभग्राहीको भिड लाग्न थालेको हो ।
जिल्ला विपत् व्यवस्थापन कोषमा जम्मा भएको रकम पालिकाको खातामा पठाएपछि रकम लिन लाभग्राही बैङ्क र पालिकामा धाइरहेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार सरकारबाट अस्थायी आवासका लागि स्थानीय सरकारले लाभग्राहीको विवरण पठाएपछि पालिकाको खातामा जम्मा गरिएको छ ।
कतिले पाए पहिलो किस्ता ?
भूकम्पपीडितले पहिलो किस्ताबापतको रकम पाएका छन् । त्यस अनुसार भेरी नगरपालिकामा छ हजार ६३४ लाभग्राहीका लागि १३ करोड ६९ लाख २५ हजार निकासा भएको छ । त्यसमध्ये तीन हजार ३०६ लाभग्राहीका लागि आठ करोड २६ लाख ५० हजार पहिलो किस्ताको रकम वितरण भएको छ । भेरी नगरपालिकामा १५० वटा अस्थायी आवास निर्माण भएका छन् । नलगाड नगरपालिकामा २० करोड २४ लाख २५ हजार निकासा भएकोमध्ये आठ हजार ९७ लाभग्राहीसँग सम्झौता भए पनि पहिलो किस्ता रकम पाउन सकेका छैनन् ।
नलगाड नगरपालिकामा चार हजार ९० अस्थायी आवास निर्माण भएका छन् । छेडागाड नगरपालिममा नौ करोड १६ लाख निकासा भएको छ । तीन हजार ६६४ लाभग्राहीसँग सम्झौता भएकोमध्ये एक हजार ६८ लाभग्राहीसँग सम्झौता गरिए पनि ३७० लाभग्राहीले मात्र रकम पाएका छन् । ९२ लाख ५० हजार पहिलो किस्ता रकम वितरण भएको छ । पाँच हजार ५८६ लाभग्राही रहेको बारेकोट गाउँपालिकामा १३ करोड ९६ लाख ५० हजार निकासा भएको छ । यसमध्ये एक हजार ६५ लाभग्राहीसँग सम्झौता भएर वितरण गरिएको जनाइएको छ । दुई करोड ६६ लाख २५ हजार वितरण भएको बारेकोटमा एक हजार ६३१ अस्थायी आवास निर्माण भएका छन् ।
पाँच हजार २८७ लाभग्राही रहेको कुसे गाउँपालिकामा १३ करोड २१ लाख ५७ हजार निकासा भएको छ । यहाँ एक हजार १५२ लाभग्राहीसँग सम्झौता गरी ५०२ जना लाभग्राहीले एक करोड २५ लाख ५० हजार पहिलो किस्ता रकम लिएका छन् । जुनीचाँदे गाउँपालिकामा दुई हजार ५६६ लाभग्राहीका लागि छ करोड ४० लाख ७५ हजार निकासा भएको छ । लाभग्राहीसँग सम्झौता हुन नसकेपछि लाभग्राहीले रकम पाउन सकेका छैनन् । तीन हजार ३०९ लाभग्राही भएको शिवालय गाउँपालिकामा आठ करोड २७ लाख २५ हजार निकासा भएको छ । दुई हजार ८७१ लाभग्राहीसँग सम्झौता भएर सात करोड १७ लाख ७५ हजार रकम पहिलो किस्ताबापत वितरण भएको छ । ७७ वटा अस्थायी आवास निर्माण भएका छन् ।
जिल्लामा भूकम्प प्रभावित क्षेत्रमा छ हजार ५६ वटा अस्थायी आवास निर्माण गरिएको जनाइएको छ । ३५ हजार १४० लाभग्राहीका लागि ८४ करोड ९५ लाख ७५ हजार निकासा भएकोमध्ये १७ हजार ५७७ लाभग्राहीसँग अस्थायी आवासका लागि सम्झौता भइसकेको छ । आठ हजार ११४ लाभग्राहीसँग सम्झौता भई २० करोड २८ लाख ५० हजार पहिलो किस्ता वितरण भएको जनाइएको छ ।
हाम्रो पहुँच संवाददाता । १३ पुष २०८०, शुक्रबार