भूकम्पपीडितका लागि २ अर्ब २६ करोड रुपैयाँ निकासा

काठमाडौँ । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङमा अस्थायी आवास निर्माणकालागि अहिलेसम्म २ अर्ब २८ करोड रुपैयाँ निकासा भएको छ । जसमा ३३ हजार ५ सय ४९ जनाले अस्थायी आवासमा पहिलो किस्ताका लागि सम्झौता गरेका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म पाँच जिल्लामा ६७ हजार ७ सय ८० लाभग्राही कायम भएकामा ३४ हजार २ सय ३१ जनाले अझै किस्ता लिनकालागि अझै सम्झौता गरेका छन् । प्राधिकरणका अनुसार सम्झौता गर्नसाथ भूकम्प पीडितले अस्थायी आवासकालागि २५ हजार रुपैयाँ पाउने छन् । त्यसपछि आवास निर्माण गरीसकेपछि थप २५ हजार रुपैयाँ पाउने छन् ।

जाजरकोटमा कायम भएका लाभग्राही ३५ हजार १ सय ४० मध्ये १५ हजार ३ सय ९ जनाले मात्र सम्झौता गरेका छन् । रुकुम पश्चिममा १७ हजार ४ सय ३४ लाभग्राही कायम भएकोमा १६ हजार ३ सय २३ जनाले किस्ताका लागि सम्झौता गरेका छन् । बझाङमा ४ हजार ५ सय ७३ लाभग्राही कायम भएकोमा १ सय २४ जना, बाजुरामा २ हजार ७ सय २९ लाभग्राही कायम भएकोमा २ सय ८८ जनाले मात्र अहिलेसम्म सम्झौता गरेका छन् । सल्यानमा १ हजार ७ सय ३० लाभग्राही रहेकोमा ५ सय ८० जनाले सम्झौता गरेका छन् ।

अहिलेसम्म निकासा भएको कुल रकम मध्ये लाभग्राही कायम भएको संख्याका आधारमा दोस्रो किस्ता दिन थप १ अर्ब १२ करोड ९० लाख रुपैयाँ अपुग हुने देखिन्छ । रकम सम्झौता गर्ने बढिरहेको र अस्थायी आवास निर्माणको काम पनि भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले बताए ।

तपाईको प्रतिक्रिया