किन हुदैछन् त्रिपालमा असुरक्षित महिला ?


भूकम्प गएको दुई महिना बित्न लाग्दा पनि जाजरकोट र रुकुम पश्चिमका हजारौं परिवार अझै त्रिपालको ओतमा छन् । उनीहरूलाई एकातिर कठ्यांग्रिँदो हिउँद कसरी कटाउने चिन्ता छ, अर्कातिर गुजारा कसरी चलाउने भन्ने पिरलो छँदै छ । त्यसमाथि प्रायः महिला÷बालबालिका यौन हिंसामा परिने हो कि भन्ने त्रासमा गुज्रिरहेका छन् । विपद्मा एकअर्कालाई भरथेग गर्दै अघि बढ्नुपर्ने बेला महिलाले आफ्नै गाउँसमाजमा समेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था बन्नु विडम्बनापूर्ण छ ।

भूकम्प प्रभावित क्षेत्रका महिलाले त्यतिकै असुरक्षित महसुस गरेका होइनन् । भूकम्पपछि त्रिपालमा बस्न थालेको केही दिनमै जाजरकोटको नलगाड नगरपालिकामा एक किशोरी बलात्कृत भएकी थिइन् । राति शौच गरेर फर्किंदै गरेको बेला उनलाई नजिकै अर्को त्रिपालमा बस्दै आएका युवकले बलात्कार गरेका थिए । ती युवक अहिले पुर्पक्षका लागि थुनामा छन्  । जिल्लामा यसअघि भएका जबर्जस्ती करणी र करणी प्रयासका घटनाका कारण समेत खुला ठाउँमा त्रिपालभित्र रात कटाउनुपर्दा महिलाहरूले असुरक्षित महसुस गरेका हुन् । जाजरकोट जिल्लामा साउनयता मात्र जबर्जस्ती करणीका १३ र करणी प्रयासका एउटा मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

त्यसअघिका तीन आर्थिक वर्षमा बलात्कारका ३० र प्रयासका दुई घटना दर्ता गरिएका थिए । रुकुम पश्चिममा साउनयता जबर्जस्ती करणीका पाँच र प्रयासका दुई मुद्दा प्रहरीमा पुगेका छन् । त्यसअघि तीन वर्षमा बलात्कारका ४२ र प्रयासका ११ उजुरी परेका थिए । जाजरकोटको नलगाड नगरपालिकाका जनप्रतिनिधि नै भूकम्पपछि त्रिपालमा बसिरहेका महिला असुरक्षित रहेको बताउँछन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट घर भत्किएका कारण जाजरकोट, रुकुम पश्चिम र आसपास क्षेत्रका ५० हजारभन्दा बढी परिवार विस्थापित भएका थिए । यतिन्जेल पनि भरपर्दो अस्थायी छाप्रो समेत बनाउन नसकेर त्रिपालमै बसिरहेकाहरू प्रायः कमजोर आर्थिक अवस्थाका छन् । गाउँका पुरुष कमाइका लागि केही महिना मुलुकभित्रकै विभिन्न सहर वा भारत जाने चलन छ । तर त्रिपालमा रहेका बेला ‘जे पनि हुन सक्ने’ डरका कारण कैयन् पुरुष काममा गएका छैनन् । दिउँसो खासै समस्या भए पनि राति जोखिमपूर्ण हुने महिलाहरूको भनाइ छ । राति शौचका लागि त्रिपालबाट बाहिर निस्कनुपर्छ । परिवारमा पुरुष नभएका एकल महिला झन् बढी त्रासमा देखिन्छन् । महिला यसरी यौन दुर्व्यवहारको त्रासमा बसिरहनुपर्ने अवस्था समाजकै लज्जा हो ।

गाउँमा कसैले पनि असुरक्षित नहुने वातावरण निर्माण गर्न समाजकै अगुवा र जनप्रतिनिधिहरूले अग्रसरता लिन जरुरी छ । यौन हिंसाका विषयमा गाउँलाई सचेत बनाउनुपर्छ । राति अबेरसम्म समूहमा बसेर मदिरा पिउने, होहल्ला गर्ने व्यक्तिहरूलाई निगरानी गर्नुपर्छ । मनोसामाजिक परामर्श दिँदै महिला÷बालिकाको आत्मबल उकास्नुपर्छ । कसैले दुर्व्यवहार गरे प्रहरीकहाँ जान प्रेरित गर्नुपर्छ । प्रहरीले पनि उजुरी सुनुवाइमा तदारुकता देखाउनुपर्छ । यौन दुव्यवहार गर्नेले कानुनी कारबाहीबाट उन्मुक्ति पाउनु हुँदैन । समाजमा महिला÷बालिका अहिले मात्र होइन, सधैं सुरक्षित महसुस हुने वातावरण निर्माण गर्नुपर्छ ।

भूकम्प गएको दुई महिना बित्न लाग्दा पनि पीडित परिवार अझै त्रिपालमै रहनुपर्ने अवस्था उदेकलाग्दो छ । सरकारले क्षतिको यकिन विवरण पनि अहिलेसम्म तयार पार्न सकेको छैन । यसले विपद्मा परेका परिवारहरूको बसोबास प्रबन्ध सरकारको उच्च प्राथमिकतामा पर्न नसकेको प्रस्ट्याउँछ । अस्थायी छाप्रा निर्माणका दिइने अनुदानका लागि पर्याप्त रकम बेलैमा निकासा नगरेर सरकारले त्यसलाई थप पुष्टि गरेको छ ।

तापक्रम माइनसमा ओर्लने क्षेत्रमा बालबालिका, सुत्केरी, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीलाई चिसो थेग्न मुस्किल परिरहेको छ । चिसोले निम्त्याएको स्वास्थ्य समस्याका कारण ३४ जना भूकम्पपीडितको मृत्यु भइसकेको छ, जुन भूकम्पमा ज्यान गुमाएकाको कुल संख्याको करिब २२ प्रतिशत हो । भूकम्पले मानवीय क्षति नभएको केन्द्रविन्दु रामीडाँडा गाउँमात्र चिसोले १४ जनाको ज्यान गइसकेको छ । त्रिपालमा रहेका भूकम्पपीडितको जीवन रक्षा गर्न र महिला÷बालिकालाई पनि सुरक्षित महसुस गराउन तत्काललाई अस्थायी छाप्रा, त्यसपछि स्थायी घरमा जतिसक्दो छिटो सार्नुपर्छ ।
ईकान्तिपुर बाट साभार गरिएको

तपाईको प्रतिक्रिया