जाजरकोट । सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले भुकम्प प्रभावितहरुलाई चिसोबाट जोगाउन न्यानो टेन्ट हस्तान्तरण गरेका छन् ।
सोमबार जाजरकोटको भेरी नगरपालिका— १ रावतगाँउस्थित सेभ द चिल्ड्रेनद्वारा जारी भूकम्प प्रतिकार्य कार्यक्रमको स्थलगत अवलोकन भ्रमण गर्ने क्रममा भूकम्पबाट प्रभावित समुदायहरुलाई अत्याधिक जाडोबाट जोगाउन यूरोपेली संघद्वारा सेभ द चिल्ड्रेनलाई प्रदान गरिएका विन्टराइजेशन टेन्टहरु भूकम्प प्रभावित समूहलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री आचार्यले भूकम्पबाट प्रभावित समुदायहरुको संरक्षण, सुरक्षा, र पुनस्र्थापना सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेका बताए । उनले महिला, बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक लगायतका अति प्रभावितहरुसम्म यथासीघ्र अत्यावश्यक राहत तथा अन्य सहयोग पु¥याउन सरकारले सेभ द चिल्ड्रेन लगायत अन्य संघ सस्थाहरुसँग निकट रुपमा सहकार्य गर्दै आइरहेको बताए ।
सेभ द चिल्ड्रेनकी कार्यवाहक राष्ट्रिय निर्देशक तारा क्षेत्रीले विपद्को बेलामा भूकम्पबाट अति प्रभावित समुदायको जीवन रक्षा गर्ने सहायता लिएर तत्काल पुग्न सरकार, स्थानीय साझेदारहरुको सहकार्यबाट सम्भव भएको बताईन । यूरोपेली संघद्वारा प्रदान गरिका विन्टराइजेशन टेन्टहरुले अत्याधिक जाडोको सामना गरिरहेका कैयौं बालबालिका, महिला र वृद्ध नागरिकहरुको ज्यान जोगाउनेछ भन्ने विश्वास छ उनले भनिन् भूकम्प गएयता भूकम्प प्रभावित क्षेत्रमा तीन जना बालबालिका सहित ३४ जनाको अत्याधिक चिसोको कारण मृत्यु भैसकेको छ ।
गत मंसिर २२ गते यूरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई वितरण गर्नपहाडी क्षेत्र विकास अभियान र पाँच तारा युवा संरक्षक मन्च मार्फत ८ सय थान विन्टर टेन्ट प्रदान गरेको थियो । अन्य सामान्य टेन्टहरुभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले निर्मित यी विन्टराइजेशन टेन्टहरु अग्निरोधी, जलरोधी र चुल्होयुक्त छन् । प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्गमिटरको बासस्थल प्रदान गर्दछ ।
भूकम्प पश्चात् मानवीय सहायता कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनले विशेषगरी बालबालिका र उच्च जोखिममा रहेका व्यक्तिहरुको संरक्षण गर्न भूकम्प प्रभावित समुदायहरुको लागि अस्थाई बासस्थल निर्माण, विन्टराइजेशन टेन्टहरु, मनोसामाजिक सहयोग, बालबालिकाको लागि वैकल्पिक शिक्षा तथा बाल हेरचाह केन्द्रसम्बन्धी सहयोग प्रदान गर्दै आएको छ ।
हाइजिन किड , डिग्निटी किड, टिचर किड समेत वितरण गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रणबहादुर कार्कीले बताए । यस्तै, मन्त्री आचार्यले भेरी ०३ को हनुमान प्रा. विमा निर्मित टि एल सि सेन्टरको पनि अवलोकन गरेका थिए ।
हाम्रो पहुँच संवाददाता । १० पुष २०८०, मंगलवार