सोती घटनाकाे मुद्धा हेर्दा हेर्दैैमा, भोली पनि सुनुवाई हुने

वादी र जाहेरवाला तर्फका नौ जना अधिवक्ताको बहस सकियो ।

जाजरकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा जाजरकोटका नवराज बिक र अन्य ५ जना युवाको हत्या भएको घटना सम्बन्धिको मुद्धा हेर्दा हेर्दैमा राखिएको छ ।

आइतबार (आज) बाट जिल्ला अदालत रुकुम पश्चिममा सुनुवाई सुरु भएको हो । आज बहस नसकिएपछि मुद्धालाई हेर्दा हेर्दैमा राखिएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

भोली पनि यो मुद्धाको सुनुवाई हुने उनको भनाई छ । बहस नसकिदा सम्म निरन्तर सुनुवाई हुने र बहस कहिलेसम्म चल्छ भनेर भन्न सकिने अवस्था नरहेको सूचना अधिकारी कोइरालाले बताए । उनका अनुसार आइतबार वादीका तर्फबाट दुई जना सरकारी वकिल र जाहेरवालाका तर्फबाट सात जना गरी नौ जनाको बहस भएको छ ।

बेलुका ६ बजे सम्मै बहस भएको थियो । वादी तर्फ चार जना र जाहेरवाला तर्फ १२ जना गरी १६ जना तथा प्रतिवादीका तर्फबाट ६ जना अधिवक्ताहरु रहेको उनले बताए । सबै गरेर २२ जना अधिकावक्ता भएकोले बहस सकिन नै समय लाग्ने देखिएको जिल्ला अदालतको भनाई छ । बहस सकिएपछि फैसला आउने बताइएको छ ।

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर २०७७ साल जेठ १० गते जाजरकोटका नवराज सहित उनका साथीहरु जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जिव विक, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको सोतीमा हत्या भएको थियो ।

यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् । ११ जनालाई भने तारेखमा छाडिएको थियो ।

तपाईको प्रतिक्रिया