जाजरकोट । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जाजरकोटको रिम्नामा रहेको भेरी त्रिवेणी माध्यमिक विद्यालयमा छ कोठे अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरेको छ । भूकम्प गएको करिब एक महिना बित्दासम्म सरकारले निजी आवासकै लागि समेत अस्थायी संरचना खडा गर्न सकेको छैन । विद्यालय भवन निर्माण र संचालनका काम झन् सुरुवातै भएको छैन ।
नेविसंघले भेरी त्रिवेणी माविलाई तत्काल कक्षा संचालनमा सहज हुने गरी छ कोठा अस्थायी टहरा बनाई हस्तान्तरण गरेको हो ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आफूहरुले दुई वटा विद्यालयको पक्की भवन निर्माण गर्ने प्रतिबद्धता जनाएकोमा तत्काल पठनपाठन गर्न सहज होस् भन्ने उद्देश्यले भेरी त्रिवेणीमा छ कोठे अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरिएको बताए । सो विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्रीहरु समेत हस्तान्तरण गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
नेविसंघले ३०० सेट शैक्षिक सामग्री, ६ सेट ह्वाइट बोर्ड र ६ सेट बोर्ड मार्कर लगायतका अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । यसपछि नेविसंघले जुनीचाँदे गाउँपालिकामा रहेको शिवपुरी माविमा समेत अस्थायी भवन निर्माण थालेको छ ।
भूकम्पका कारण यहाँ ३९८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ५० हजारभन्दा धेरै विद्यार्थीको पढाई प्रभावित भएको छ ।
भूकम्पपछि खुलेका विद्यालयमा अझै पनि नियमित पठनपाठन सञ्चालन हुन सकेको छैन । भवन भत्किएपछि विद्यालयहरुले खुला चौरमा पठनपाठन गर्दै आएका छन् । नेविसंघले बनाएका टहरा हस्तान्तरणमा केन्द्रीय अध्यक्ष शेर्पासहित कांग्रेस केन्द्रीय सदस्यहरु राजीव विक्रम शाह, नैनसिंह महर, योगेन्द्र चौधरी, कुन्दनराज काफ्लेलगायत सहभागी थिए ।
हाम्रो पहुँच संवाददाता । १५ मंसिर २०८०, शुक्रबार