घर भित्रबस्दा त्रास ,बाहिर माइनस !


कुशे गाउँपालिका, जिल्ला सदरमुकाम खलंगा जाजरकोट देखि करिब ४० किलोमिटर टाढा उत्तरी भेगमा रहेको गाउँपालिका हो । जुम्ला जिल्लाको तातोपानी गाउँपालिकासँग सीमाना जोडिएको यो गाउँपालिकाको अक्षांश  २८ डिग्री ४८ मिनेट देखि २८ डिग्री ५० मिनेट उत्तर र ८२ डिग्री १७ मिनेटदेखि ८२ डिग्री १० मिनेट पूर्वि देशान्तरसम्म फैलिएको छ। २७३.९७ बर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा २०७८ सालको जनगणना अनुसार २३ हजार ५८ जनसंख्या र करिब ४ हजार ६ सय घरधुरी रहेका छन्।  समुद्रि सतह देखि १ हजार ७५ मिटरबाट शुरु भइ ४ हजार ३ सय ८८ मिटर उचाइसम्म रहेको यो गाउँपालिका उच्च पहाडी भेगमा पर्ने भएकाले चिसो हावा पानी हुनु स्वभाविकै हो ।

0000

बाटो घाटो र आवत जावतको हिसाबले असजिलो भएकै कारण सेवा सुविधाहरुको सहज पहुँचको प्राप्तिमा गाउँपालिका पुग्न सकेको छैन । सडकहरु प्राय मौसमी छन् ।  पानी पर्दा र खोला बढ्दा यातायातका साधनहरु चल्दैनन यस क्षेत्रमा बसोबास गर्ने नागरिकको जनजीवन कष्टकर नै देखिन्छ । दुर्भाग्य,२०८० कार्तिक १७ गते रात्री गएको भुकम्पबाट यो गाउँपालिका नराम्रोसँग प्रभावित भएको छ । बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु रहेको भनिएको उक्त क्षेत्र र यस गाउँपालिकाको वडा नम्बर ७ समाइला गाउँको सिमाना एक आपसमा जोडिएको हुँदा नजिकमा असर पर्नु स्वभाविक हो।

0000

त्यही भएर पनि भुकम्पको केन्द्र बिन्दु परेको आसपास नजिकका ठाउँका अधिकांस भागमा ठुलो क्षति हुन पुगेको छ। यस गाउँपालिकामा रहेका ५५ बटा बिद्यालयका १८ वटा भवनमा पूर्ण क्षति, ९५ वटा भवनमा आंशिक क्षति र २६५ वटा कक्षाकोठामा क्षति पुगि करिव १० हजार बालबालिका र ५०६ जना शिक्षक, कर्मचारीहरु प्रभावित हुन पुगेका छन् । कतै न कतै सबै जसो कुशे बासी यस घटनाबाट प्रभावित हुन गएको देखिन्छ ।

गाउँबस्तीमा रहेका बास स्थानमा पनि त्यति कै असर परेकाले खुला आकासमुनि एउटा पालको भरमा यो मौसममा मानिसहरुले गुजरा गरिरहेका छन्।  के बालक,के वृद्ध, के महिला सबैको अबस्था दयनिय छ। विपद तथा प्रकोपको यस समयमा नागरिकहरु सरकारी, गैरसरकारी संस्था र दातृ निकायको आशामा अल्झिरहेका छन् भने तिनीहरुसँगै हार गुहार गरिरहेको पाइन्छ। भुकम्पको झड्काले मानिसको मनस्थिति पनि कम्जोर बनाइ दिएको छ । कति खेर हावा चल्दा, कुकुर भुक्दा पनि झड्का नै आयो कि भन्ने जस्तो भान हुन्छ ।

0000

कुनै दिन यो सोच थिएन कि ? आप्नो सुरक्षा तथा बाँच्नका लागि बनाइएका आप्नै घरबास आप्नै चिहानघाट हुने छन् भन्ने, तर बिडम्बना त्यहि भइदियो । भुकम्प कै कारण यस गाउँपालिकाको वडा नम्बर ७ को धनरासिमा ७ जनाको ज्यान एकसाथ गएको छ । जस मध्य ४ जना बालबालिका पर्न आएका छन् भने ३ जना बिद्यालयको कक्षा ८ कक्षा ४ र कक्षा १ मा पढ्ने छात्र छात्रा रहेका छन् । सोही प्रकोपमा परि लक्ष्मी प्राप्ति माध्यमिक बिद्यालय खुर्पाका प्रधानाध्यापक दिनेश कुमार सिंह सख्त घाइते हुनु भएको छ । यस्तो विपदको बेला उद्दार,राहत र जोखिमको न्यूनीकरण जस्ता तीन वटा कार्यलाई एक साथ अगाडि बढाउनु पर्ने हो त्यहि काम प्रभावकारी ढंगले हुन नसकेको ब्यापक गुनासो छ ।

0000

यहि मौकालाई उपयोग गर्दै केही नकरात्मक सोच र बिकृत मानसिकता भएका ब्यक्तिहरुले आरोपका लागि आरोप लगाउन खोजिरहेका छन् तर त्यस्मा कुनै सत्यता छैन । सत्यता के मा छ भने स्वतन्त्र ब्यक्तिहरुको बिचार तथा दृष्टिकोणहरुलाई समेत बिश्लेष्ण गर्दा यो माहोललाई ब्यबस्थित ढंगले नियन्त्रणमा लिन नसकिएको चुस्त दुरुष्त र पारदर्शि प्रक्रियाबाट काम गर्न नसकिएको अनि अलिकति अनुभवको पनि कमि भएको तथा पीडितलाई सम्झाइ बुझाइ गर्न नसकिएकोमा केही सत्यता होला भनेर मान्न सकिन्छ। यसो हुनका पछाडि बिभिन्न कारणहरु छन तसर्थ यहि बिषयमा काम गर्न २०८० मंसिर ५ गते बसेको कार्यपालिकाको बैठकमा कर्मचारी जनप्रतिनिधिहरुको सहभागितामा सयुक्त रुपमा ब्यापक छलफल भयो । भुकम्प पिडितको ब्यबस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी राज्यको हो, जन प्रतिनिधिको हो भने मत समुदायमा उठेको बिचार सदस्यहरुले राख्नु भयो ।

0000

कुनै जन प्रतिनिधिले तराहत बितरणको एक द्वार प्रणाली अपनाउने र वडाबाट बितरण गर्ने भनिए पनि त्यसो नभएको गुनासो गर्नु भयो । कसैले घर धुरी भन्दा हजार बढी त्रिपाल आए पनि पुर्याउन नसकिएको कम्जोरी स्वीकार्नु भयो ।कतिले त त्रिपालहरु जस्को हो उसैलाई फिर्ता गर्ने, बाटो मै समान जफत गर्ने जस्ता प्रबृति देखिएको सुनाउनु भयो।कसैले तपाईको घर सुरक्षित छ भन्ननै नसकिने त्यसो भनि दिए सरकारले मेरो घर बनाइ दिने थियो प्रतिनिधि बाधक भए भनेर आक्रमण गर्नेसम्मको डर देखिने बताउनु भयो भने कसैले घर बनाइ दिने भए लगत लिनु ,नत्र लिन मिल्दैन भन्नेसम्मका कुरा सुन्नु परेको गुनासाहरु ब्यक्त गर्नु भयो । लामो छलफल पश्चात भने हामी राहत बितरण कार्यलाई नै तत्कालका लागि ब्यबस्थित बनाउने निष्कर्षमा पुगि एक मत भयौं ।

0000
बिपद जोखिमका सन्दर्भमा राज्यको भुमिका खोज्दै जाँदा बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन ऐन २०७४,बिपद जोखिम न्यूनिकरण तथा ब्यबस्थापन नियमावलि २०७५ मा संस्थागत गरिएका ब्यबस्थाहरु केलाउदा बिपद कसरी चिन्ने,बिपद पुनर्लाभ कसरी गर्ने ,पूर्व तयारी गर्दा के गर्ने , न्यूनिकरण कसरी गर्ने ,बजेट, जनशक्ति ब्यबस्था कसरी गर्ने , स्रोतको संचयकसरी गर्ने भन्नेमा ब्यबस्था गरिएकाप्रर्याप्त आधार भए पनि सो को कार्यान्वयन पक्ष एकदम कम्जोर रहेको र जसको पालन गर्न नसक्दा आज जोखिम बढि यो बिपदको सामना गर्नु परेको बुझ्यौं। त्यसै गरी नेपालको संबिधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ बाताबरणमा बाच्न पाउने हक , स्थानिय सरकार संचालन ऐन २०७४ मा दिगो बिकास र स्वच्छ बाताबरणका क्षेत्रमा गरिएका ब्यबस्थाहरुको सुनिश्चता गरिए पनि जस्को गहिराई सम्म पुग्न नसकि सतहि बुझ्ने गरेका धारणालेपटक पटक बिपद तथा प्रकोपको महामारीको सिकार हुनु परेको तथ्य जाजरकोट बासीमा रहेको स्वीकारवक्ति भयो। कतै हामीलाई यो थाह भएन कि ?

0000

नेपाल बहु प्रकोपपिय जोखिमको हिसावले बिश्वका मुलुकहरु मध्य ३० औंस्थानमा रहेको छ ।कतै हामीलाई यो थाह भएन कि ? भुकम्पिय जोखिमको हिसावले ११औं स्थानमा नेपालरहेको तथा जल प्रकोपको हिसाबले ३० औं जोखिमको स्थानमा रहेको छ । यहाँ जतिखेर पनि बिपद निम्तिने जोखिम हुनेखतरा देखिन्छ भन्ने तथ्यलाई बिर्सिदै गयौं। यसो हुनुमा अब्यबस्थित बसोबास, जल बायु परिबर्तन, बिकास, बाताबरण र जन संख्याको तालमेल हो भन्ने हामीले कहिल्यै पनि बुझ्ने प्रयास गरेनौं। अर्को तर्फ नेपाल तिब्बततियन प्लेट र इन्डियन प्लेटको बिचमा रहेको मुलुक भएकाले त्यहाँको असर पनि नेपालसम्म आइपुग्ने भएको खतरालाई देख्न सकेनौं । अनि जोखिम बढीरहेको छ भन्ने पत्ता नै नपाउदा नपाउदै यो अबस्थामा आई पुग्नु परेको सिकाइ भयो । समय मै सजग हुन नसक्दा यो हबिगत भयो । अलिकति पनि संरचना बलिया बनाउन सकिएन छ यता पट्टी काठको नस दिएको घर बचेको छ भने उता पट्टी नस नदिएको घर ढलेको छ ।

0000

बिपदलाई सधैं हामीले नकरात्मक दृष्टिकोणबाट बुझनु हुदो रहेन छ भन्नेपनि लागेको छ । किनभने बिपदको बिभिन्न समयका घटना क्रमलाई हेर्दा नेपालको इतिहाँसमा पन्ध्रौ शताब्दिमा बिनासकारी भुकम्प गएको भनिए पनि जस्को कुनै रेकर्ड पाइदैन तर त्यस पछि भने बि सं १९९० सालमा गएको भुकम्पलाई महाभुकम्प भनिन्छ जसले धेरै धनजनको क्षति गरे पनि केही सकरात्मक असर भने छोडेर गएको छ । इतिहाँस मै पहिलो पटक जमिनको नाप नक्शा गर्न, साँध सिमाना छुट्टयाउन र त्यही बेला देखि भुमिमाथिको लगत संकलन शुरु गर्न थालिएको पाइन्छ हालसम्म त्यसकै आधारमा जग्गाको नाप जाँच र सिमाना क्षेत्रको बाँडफाँडको लागि आधार लिने गरेको देखिएको छ । एक दृष्टिकोणबाट हेर्ने हो भने यसलाई सकरात्क पक्ष मान्नु पर्ने हुन्छ ।

0000

२०४५ सालमा गएको भुकम्पबाट पनि सकरात्मक परिबर्तन आउन सहयोग पुगेको मानिन्छ ।काग्रेस र बाम मोर्चाको एकताबाट २०४६साल चैत्र २६ गतेको सुनौलो दिन देख्न पाइएको हो । जनताको अधिकार स्थापना अर्थात प्रजातन्त्र स्थापना हुन मद्दत पुगेको पनि त हो नि उक्त बिपद पश्चात जस्तो लाग्छ । त्यसै गरि २०७२ सालमा गएको भुकम्प पछि नै ८ बर्षसम्म नबनेको संबिधान लाई निर्माण गर्न दल र नेताहरु बाध्य भएकोअबस्था सिर्जना भएको हामीले स्वयम देखेकै हो । त्यस पश्चात मात्र त नेपालको संबिधान २०७२ बन्यो जनताका अधिकार संस्थागत भए देशमा संघियता आयो । अब २०८० सालमा गएको भुकम्पले पनि केही सकरात्मक परिणाम ल्याउला भन्नेमा आशाबादी छौं ।

यो परिबेशलाई उपयोग गर्न सकियो भने नब निर्माण र पुनः निर्माणको बलियो संभावना छ ।यो बिपदमा सहयोग गर्नका लागि पनि बिभिन्न दल,ब्यक्ति,नेता कार्यकर्ता तथा संघ संस्था को भरिलो साथ मिल्दै आएको छ सेभ द चिल्ड्रेन,यूनिसेफ, पलान नेपाल ,बिश्व शिक्षा जस्ता संघ संस्थाहरु त अग्र भागमा नै आएका छन ।

0000
यस क्रममा काठ्माण्डौ महानगरपालिका, मधुबन नगरपालिका बर्दिया , कोहलपुर नगरपालिका बाँके, बिरेन्द्रनगर नगरपालिका सुर्खेत लगाएतका धेरै नगर महानगरहरुलेसहयोगको लागि हात फैलाएको पाएकै छौं । त्यसै गरि राजनैतिक दल, संस्था र ब्यक्तिहरु पनि सामाग्री ब्यबस्थापन, टहरा निर्माण, राहत संकलनमा जोडदार ढंगले लागेको देखिएकै छ । क्षतिको हिसाबले तुलनात्मक रुपमा नलगाड तथा भेरी नगरपालिका भन्दा कम मानबिय र भौतिक क्षति भएको अनुमान गरिए अनुसार यस गाउँपालिकामा राहत तथा सहयोगका कार्यक्रमहरुको फलो अलि कम नै देखिन्छ तसर्थयस हिसाबले राष्ट्रिय तथा जिल्ला बिपद ब्यबस्थापन समितिको ध्यान यस गाउँपालिकामा कमै पुगेको हो कि भन्ने भान हुन थालेको छ । यस्तो अबस्था आउनुमा जन प्रतिनिधि र कर्मचारी दोषि कतै हुन कि ?उनकै कम्जोरी ले यसो भएकोहो कि भनेर धारे हात लाउने ब्यक्तिको संख्या बढ्दै गएको छ ।

0000

जनप्रतिनिधिको यहि क्षेत्रमा घरबास भएकाले अलि सुरक्षित नै भएको महसुस गर्नु भएको छ भने कर्मचारी र शिक्षक प्राय बाहिरको डेरा गरि बस्ने भएकाले वहाँहरुले साहै असहज महसुस गर्नु भएको देखिन्छ । परिस्थितिको आकलन नगरि पहिलासस्ता सस्ता कोठा खोजेर डेरा गरि बस्ने हामीहरुका मन भने त्रसित नै छन । अहिले आएर ति कोठाहरु दर्केर डर लाग्दा भएका छन ।मदिरा निशेधित क्षेत्र भएकाले कहिले कसो सुरपान गर्ने ब्यक्तिहरु पनि मुख मिठाएर बसेको देखिन्छ । प्राय एकल कोठा लिएर बसेका कर्मचारीहरु अगाडि बाझका मुढा तापेर बसेका हुन्छन भने पछाडि पिठ्यौंमा चिसो ले बरफ जमेको पत्तै हुदैन । त्यहि भएर शीर्षकमै भनिएको छ  ।

0000

घर भित्र बस्दा त्रास, बाहिर माइनसयो यथार्थ हो घर भित्र जादाँ भुकम्प आउछ कि भन्ने त्रास छ किनभने भुकम्प पछि पनि ६ सय वटा प्राकम्प आइसकेका छन त्यस हुनाले कति बेला के हुन्छ भन्नै सकिदैन । घर बाहिर बसु त माइनस जिरो भन्दा तलको डिग्रीमा तापक्रम छ । बिहान उज्यालो सँगै उठ्दा एक युवतिले आप्नो अनुहार पटक पटक हेर्ने ऐना जस्तो गरि पानी जमेर सिसा बनि बसेको छ । कहाँ जाने ? के गर्ने ? केही कर्मचारी र शिक्षकहरु त बिरामी भएर अस्पताल भर्ना हुनु भएको छ । यो लेख लेख्दासम्म ३ जना स्थानियको चिसोको कारणले ज्यान नै गैसकेको समाचार छ । त्यसैले अहिलेको प्रस्थितिलाई मुल्यांकन गरि यो लेख मार्फत समसामयिक कुरा राखिएको छ ।

0000

यो ब्यहोरेरै अर्थात भोगेरै हो ।यस्तो अबस्थामा कसरी द्रुत गतिमा राहत र उद्दार गर्न सकिएला ? कसरी जोखिम न्यूनिकरण गर्न सकिएला ? कसरी सामाजिक भावना जोड्न सकिएला ? यस्तै बाध्य बस परिस्थितिले अपेक्षा अनुसार कामहरु फिल्डमा हुन नसकेका हुन कि ?सबैले बिचार गरि दिनु पर्ने हो । यो बिपदको चपेटामा हामी सबै परेका छौं , सबै मिलि सामाना गरौं भन्दै सहयोगको अपेक्षा गर्दछौं ।

लेखक गिरी कुशे गाउँपालिकाकाे शिक्षा,युवा तथा खेलकुद शाखामा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया