लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

काठमाडौँ । लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।

नेपालमा पनि ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइँदैछ । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछन् ।

अभियानका सन्दर्भमा भिडियो सन्देशमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहालले सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने बताएका छन् । ‘लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन, यो हाम्रो राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने सबै खाले नीतिहरुसँग गाँसिएको छ।

सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य गर्न सक्नेछौँ,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

उनले नेपालमा लामो संघर्षपछि समावेशी समानुपातिक राजनीतिक प्रणाली स्थापित भएपनि अझै थुप्रै कार्यहरू बाँकी रहेको बताए ।

तपाईको प्रतिक्रिया