जाजरकोटमा कांग्रेसले बनायो सय अस्थायी टहरा

जाजरकोटमा कांग्रेसले बनायो सय अस्थायी टहरा
जाजरकोट । भूकम्पबाट प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले एक सय वटा अस्थायी घर टहरा निर्माण गरेको छ । नलगाड नगरपालिका–५ का रघुनाथ, ऐरारी, पोखरा र मुलिमा कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद प्रदीप पौडेलको नेतृत्वमा खटिएको करिब डेढ सय जना नेता कार्यकता र स्वयम्सेवकहरूको टोलीले एक सय वटा अस्थायी घर टहरा बनाएका हो ।

जाजरकोट र रूकुम पश्चिममा कांग्रेसले मात्रै एक हजार अस्थायी घर टहरा बनाउने घोषणा गरेको छ । त्यहीअनुसार पहिलो चरणमा नेता पौडेलको नेतृत्वमा पाँच दिनदेखि खटिएको टोलीले शुक्रबारसम्म एक सय वटा अस्थायी घर टहरा निर्माण गरेको हो । टोलीमा करिब ३५ जना दक्ष प्राविधिक जनशक्ति छन् भने बाँकी नेताहरूले सहयोगीको रुपमा काम गरेका छन् ।

नेता पौडेल आफैँ पाँच दिनसम्म प्रभावित क्षेत्रमा स्थानीयवासीहरूका अस्थायी घर टहरा बनाउन खटिएका छन् । १७ कात्तिकको भूकम्पपछि कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा सहजीकरण समिति गठन गरेको थियो । थापा र शर्माले प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तत्काल उद्धार र राहतसँगै अस्थायी आवास र पुनर्निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यही बेला उनीहरूले कांग्रेसका तर्फबाट स्वयम्सेवकहरू परिचालन गरी एक हजार अस्थायी घर टहरा बनाउने घोषणा गरेका थिए । त्यही घोषणाबमोजिम कांग्रेसले गत मंगलबारदेखि प्रभावित क्षेत्रमा दक्ष जनशक्तिसहित अस्थायी घर टहरा बनाउन कांग्रेसका नेता कार्यकर्ता र स्वयम्सेवकहरू खटिएका हुन् ।

टोलीमा संघीय सांसद पौडेलसहित गण्डकी प्रदेशका सांसद डिल्लीराज सुवेदी, पालुङटार नगरपालिकाका पूर्वमेयर ईन्जिनियर दिपकबाबु कँडेल, कांग्रेस जाजरकोटका नेताहरू महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त र पूर्ण ओलीलगायत तरूण दल र नेपाल विद्यार्थी संघका नेताहरू खटिएका छन् ।

अस्थायी घर निर्माणमा खटिएका महासमिति सदस्य सुशील भट्टले शुक्रबारसम्म आफूहरूले एक सय वटा अस्थायी घर टहरा बनाएको बताए । ‘हामी गत मंगलबारदेखि यहाँ छौँ । आजसम्म हामीले एक सय वटा टहरा बनाएका छौँ,’ भट्टले ईकान्तिरसँग भने, ‘शनिबार हामी फर्किन्छौँ, पार्टीको अर्को टोलीले अर्को ठाउँमा टहरा निर्माण थाल्छ ।’

गत मंगलबार कांग्रेस महामन्त्री थापाको संयोजकत्वमा बसेको बैठकले प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउन श्रमदानका लागि एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयम्सेवकसहितको १०/१० जनाको समूह बनाएर परिचालन गर्ने निर्णय गरेको थियो । हरेकले एक–एक सातासम्म स्वयम्सेवकका रुपमा प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउन काम गर्ने निर्णय गरेको थियो ।

सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पहिलो चरणमा एक सय वटा टहरा निर्माण सम्पन्न भएपछि अर्को टोलीले अर्को ठाउँमा अस्थायी निर्माण प्रारम्भ गर्ने बताए । ‘एउटा टोलीले एक सय टहरा बनाएको छ, यसपछि अर्को ठाउँमा अर्को टोली परिचालित हुन्छ,’ उनले भने, ‘विपद्को समयमा सरकारले मात्रै सबै काम गर्न सक्दैन, सबैको सहयोगी भूमिका आवश्यक हुन्छ ।’

उनले कांग्रेसले प्रभावित क्षेत्रमा स्वयम्सेवकहरूले अस्थायी टहरा निर्माण गरिरहेको र प्रजातन्त्रवादी चिकित्सकहरूको टोलीले सामान्य र मानसिक स्वास्थय सम्बन्धी परामर्श दिने काम गरिरहेको बताए ।

‘नेपाल विद्यार्थी संघ आफ्नै खर्चमा चार वटा अस्थायी विद्यालय बनाउँदैछ, अरू दुई वटा विद्यालयमा पक्की भवन बनाउने घोषणा गरिसकेको छ,’ उनले भने, ‘हामीले नेपाल शिक्षक संघमार्फत प्रभावित क्षेत्रमा पठन–पाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन समेत आग्रह गरेका छौँ ।’

त्यस्तै, भूकम्प प्रभावित अतिविपन्न तथा जीविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार र श्रमिकको पुन:र्स्थापनाका लागि ट्रेड युनियन कांग्रेसले सहजीकरण गरिरहेको कांग्रेसले जनाएको छ ।

प्रभावित क्षेत्रमा टहरा निर्माण गरिरहेका नेता पौडेलले सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको राहत रकम दिन ढिलाई हुँदा पीडितहरूले कठ्यांग्रिदो चिसोमा सकसपूर्ण दैनिकी गुजार्न बाध्य हुनुपरेको बताएका छन् ।

‘सरकार सत्तालिप्सामै केन्द्रित छ । यहाँ भूकम्पपीडितहरू सरकार खोजिरहेका छन् । सरकारले अहिलेसम्म तत्काल दिने भनेको राहत रकम समेत उपलब्ध गराउन सकेको छैन,’ उनले भने, ‘भूकम्पपीडितहरूले चिसोले कठ्यांग्रिएर दैनिकी गुजार्नुपर्ने स्थिति चिन्ताजनक छ ।’ उनले प्रभावित क्षेत्रमा बिरामी, सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था झनै जटिल रहेको बताए ।

‘अधिकांश घर क्षतविक्षत् छन् । चिसो बढ्दै गएको छ । धेरै परिवारसँग न्यानो कपडा समेत छैन, नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थायी टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने स्थिति छ,’ पौडेलले भने ।

यसअघि अवलोकनमा गएका कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले आफैँले प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माणको थालनी गरेका थिए । त्यस्ता टहरा बनाउन प्रति परिवार ४० हजार रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको थियो । कांग्रेसको सुझावकै आधारमा सरकारले तत्काल अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

तर त्यो रकम अहिलेसम्म पीडितसम्म पुगेको छैन । प्रभावित क्षेत्रमा जस्तापाताको अभावका कारण अस्थायी टहरा खडा गर्न समेत समस्या भइरहेको कांग्रेसका महासमिति सदस्य भट्टले बताए । ‘यहाँ जस्तापातासमेत छैन । खरको छानो लगाएर भएपनि टहरा खडा गर्ने प्रयास भइरहेको छ,’ उनले भने । सरकारले अस्थायी आवासकालागि दुई किस्ता गरेर अनुदान रकम उपलब्ध गराउने गरी कार्यविधि बनाएको छ ।

तपाईको प्रतिक्रिया