कुशेको घरंगा र ढिमे स्वास्थ्य चौकीमा नि:शुल्क भिडियो एक्सरे सेवा शुरु


जाजरकोट । जिल्लाको कुशे गाउँपालिका भित्रका गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षणको लागि नि:शुल्क भिडियो एक्सरे सेवा शुरु गरिएको छ । गाउँपालिका अन्तर्गत पर्ने स्वास्थ्य चौकी घरंगा र स्वास्थ्य चौकी ढिमेमा भिडियो एक्सरे संचालनमा ल्याइएको हो ।
गर्भवती महिलाहरुलाई प्रत्येक दिन निशुल्क भिडियो एक्सरे कार्यक्रम बुधबार देखि सूचारु भएको हो । गर्भवती महिलाको स्वास्थ्य परिक्षण गर्ने गरि भिडियो एक्सरे सेवा सुरुवात गरेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

गर्भवती बाहेक अन्य बिरामीको स्वास्थ्य परिक्षणको लागि भिडियो एक्सरे गरे बापत न्युनतम शुल्क लिने, नेपालगन्ज र सुर्खेत सम्म एम्बुलेन्समा बिरामीको ओसारपसार गर्दा फ्युल लगायत सामान्य खर्च लिएर एम्बुलेन्सले गाउँपालिकाबासी समुदायलाई सेवा दिने अध्यक्ष बस्नेतले बताए ।

अध्यक्ष बस्नेतले भने, ‘घरंगा स्वास्थ्य चौकी र ढिमे स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा संचालनमा आएको छ । गाउँ पालिका भित्रको सबै वडाका गर्भवती महिलाहरूको स्वास्थ्य परिक्षणको लागि जिल्ला सदरमुकाम र अन्यत्र जानुपर्ने बाध्यताको अन्त गराइएको छ ।’


पालिकाको सबै वडाहरुको गर्भवतीहरुलाई स्वास्थ्य चौकीसम्म आवागमनको लागि नि:शुल्क एम्बुलेन्स सेवा दिइने अध्यक्ष बस्नेतले बताए । गर्भवती महिलाहरूको जाँच गर्दै भिडियो एक्सरे सेवा सुरुवात सँगै वडा नम्बर ६ मा रहेको घरंगा स्वस्थ्य चौकीमा १० जना गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य शाखा सह–संयोजक अमरजंग शाहले बताए ।

भिडियो एक्सरे मेसिन सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीले उपलब्ध गराएको र भिडियो एक्सरेको लागि बेड, जेल लगायतको आवातजावत सम्पुर्ण खर्च, स्वास्थ्य सामग्री गाउँपालिकाले ब्यबस्थापन गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया