जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाले पहिलो पटक बजार अनुगमन गरेको छ । शनिबार गाउँपालिका उपाध्यक्ष नरबहादुर गिरीको संयोजकत्वमा गाउँपालिका भित्रका २३ वटा होटेल तथा पसलहरुको अनुगमन गरिएको हो ।
बजारमा दररेट फेरबदल, म्याद नाघेका समानको विक्री, मुल्यमा एकरुपता नभएको भन्ने सर्वसाधारणको गुनासो आएपछि बजार अनुगमन गरिएको उपाध्यक्ष गिरी जानकारी दिए ।
लिम्साको देउती थान देखि देवल चौर सम्म बजारमा अनुगमन गरिएको छ । अनुगमन गरिएका करिब २३ होटेल पसल मध्य करिव ९ वटा होटेल पसल मात्र दर्ता रहेको र अधिकांश होटल पसल दर्ता नभएका पाईएको छ । दर्ता नगरेका होटल तथा पसलहरुलाई दर्ता गर्न सल्लाह बताईएको छ । स्थानीय सरकार गठन भएपछि बारेकोट गाउँपालिकाले पहिलो पटक बजार अनुगमन गरेको हो । गाउँपालिका बाट नियमित बजार अनुगमन भएपछि उपभोक्ता मारमा नपर्ने स्थानीय बताउँछन् ।
नेपालको संविधान २०७२, को अनुसूचि ८ बमोजिम उपभोक्ताको अधिकार संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहले पाएको छ । स्थानीय तहले उपभोक्ताको अधिकारलाई संरक्षण गर्न बजार अनुगमन निर्देशिका बनाएर बजार अनुगमन मार्फत नापतौल, गुणस्तर, ढुवानी, म्याद, मुल्य कायम लगायतको काम गर्न सक्नेछन् । तर जाजरकोटका स्थानीय तहले यो कामलाई अझै पनि अगाडि बढाउन सकेका छैनन् ।
अनुगमन किन ?
ऐनको दफा ३०, ३१ र ३२ ले बजार अनुगमन किन गर्ने भन्ने व्याख्या गरेको छ । कसैले अनुचित व्यापारिक क्रियाकलाप, बजारमा एकाधिकार, वस्तु वा सेवाको मूल्य वा आपूर्ति व्यवस्थालाई प्रभावित पार्ने काम, कमसल वस्तुको उत्पादन वा बिक्री वितरण गरिरहेको जस्तो अवस्था पाईने अनुगमन जरुरी हुने ऐनमा उल्लेख छ ।
ऐनअनुसार बजार निगरानी गर्ने निकाय मार्फत सूचना आएमा मन्त्रालय वा विभागले सो सम्बन्धमा तत्काल आवश्यक जाँचबुझ वा निरीक्षण गर्न गराउन सक्छन् । उपदफा ३ ले जाँचबुझ वा निरीक्षणबाट दोषी देखिएका उत्पादक, डिलर, एजेण्ट, बिक्रेता, व्यक्ति वा संस्थालाई यस ऐन वा प्रचलित कानून बमोजिम कारबाही गर्ने व्यवस्था गरेको छ ।
यस्तै दफा ३१ ले आकस्मिक निरीक्षण गर्न सक्ने व्यवस्थामा उपभोक्ताको हक, हित संरक्षणका लागि बजारको आकस्मिक निरीक्षण गर्न सक्ने उल्लेख गरेको छ ।
हाम्रो पहुँच संवाददाता । २७ आश्विन २०८०, शनिबार