जाजरकोटमा फैलिदै डेंगुको संक्रमण : परिक्षणका लागि किट अभाव, ६५ जना भेटिए संक्रमित

blog
जजरकोट । जिल्लामा भेरी नगरपालिकामा संक्रामक रोग डेंगुको प्रकोप देखिएपछि स्थानीय त्रसित देखिएका छन् । नगरपालिकाको वडा नम्बर ९,११, १२ र १३ मा डेंगुको प्रकोप फैलिएको छ । एक सय जनाको परिक्षण गर्दा भेरीका ति वडामा ६५ जनामा डेंगुको संक्रमण देखिएपछि स्थानीयबासी त्रसित बनेका हुन् । जिल्ला अस्पताल जाजरकोटमा पनि १५ जना डेंगुका विरामी फेला परेका छन् ।

उनीहरु सवैको उपचार भैरहेको छ । एकपछि अर्कोमा डेंगुको संक्रमण देखिन थालेपछि आसपासको गाउँमा पनि त्रास फैलिएको छ । प्रभावित क्षेत्रमा डेंगु परीक्षण किटको समेत अभाव देखिएको छ । उपचारमा संलग्न चार जना स्वास्थ्यकर्मी र दुई जना वडाध्यक्षलाई समेत डेंगु संक्रमण भएको छ ।

भेरी नगरपालिकाको वडा नम्बर १३ कुदुमा संक्रमण तिव्र गतिमा फैलिएको छ । घरघरमै विरामी छन् । स्थानीय स्वास्थ्यकर्मीले थेग्न नसकेपछि जिल्ला अस्पतालबाट आइतवार देखि हरेक दिन चिकित्सक प्रभावित क्षेत्रमा चिकित्सक पुगेर उपचार गर्ने गरेका छन् । जिल्ला अस्पतालका डाक्टर दीपक ज्योती सहितका स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक प्रतिक्षा भारतीले जानकारी दिईन् ।

कुदु क्षेत्रमा पानीको निकै समस्या हुने गर्दछ । त्यहाँका बासिन्दाले आकासे पानी संकलन गरेर प्रयोग गर्ने गर्दछन् । तर यसपालि त्यही संकलित पानीमा डेंगु सार्ने मच्छडले फूल र लार्भा निकालिरहका छन् तर पनि स्थानीय उक्त पानी फाल्न, पोख्न चाहदैनन् । डेंगु नियन्त्रणको एक मात्र उपाय भनेको सर्च एण्ड डिस्ट्रोइट हो अर्थात फोहर खाल्डा खुल्डी पुर्ने, फोहर पानी फाल्ने र मच्छडलाई थप लार्भा उत्पादन गर्न नदिने हो तर कुदीवासीको पानीको समस्याले संकलित पानी पोख्न नमान्दा रोग नियन्त्रणमा सकस भएको भेरी नगरपालिकाका महामारी फोकल ब्यक्ति जनस्वास्थ्य निरीक्षक दीपक वलीले बताए ।

डेंगु संक्रमणका बिमारीको संख्यामा बृद्धि हुदै गएको छ । फोहोरका कारण डेंगुका बिमारीको संख्या बढेको छ । भाइरल फिवरका रूपमा चिनिने डेगु रोग फैलदै जाँदा स्थानीयलाई चिन्ताले सताउन थालेको छ ।

जिल्ला अस्पतालका चिकित्सक डा. दीपक ज्योतिले लामखुटेको टोकाइबाट हुने डेंगुबाट बच्नका लागि लामखुटे बस्ने स्थानलाई सफा राख्नुपर्ने र फोहोरका कारण लामखुट्टे बढने र उसकै टोकाईबाट डेंगु हुने भएका कारण सचेत रहन आग्रह गरेका छन् । डेंगु परिक्षण किटको समेत अभाव रहेको र रोग नियन्त्रणका लागि सरोकारवाला निकायले चासो नदिदा डेंगुले प्रकोपकै रुप लिएको जनस्वास्थ्य निरीक्षक वलीले बताए ।

तपाईको प्रतिक्रिया