इजरायल द्वन्द्वमा १० नेपालीको मृत्यु


काठमाडौं । लडाकु समूह हमासले हवाई हमला गर्दा इजरायलको कृषि फार्ममा काम गर्ने १० नेपालीको मृत्यु भएको छ । दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा कृषि क्षेत्रमा कार्यरत रहेका बेला मृत्यु भएको हो ।

नेपाली मजदुरको मृत्युबारे परराष्ट्र मन्त्रालयले स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । तर, इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले भने १० जना नेपालीको मृत्यु भएको जानकारी दिइन् । आइतबार राति कारोबारसँग टेलिफोनमा कुरा गर्दै राजदूत रिजालले यसको विवरण परराष्ट्र मन्त्रालयमा पठाएको बताइन् । दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेका १७ नेपालीमध्ये १० को मृत्यु भएको हो । यसबाहेक ४ जना अहिले अस्पतालमा उपचारत छन् । यस्तै, १ जना प्रहरीको सेल्टरमा छन् भने अर्को एक जना रोजगाररत कम्पनीको सेल्टरमा पुगेका छन् ।

१७ मध्ये बाँकी एक जना हालसम्म सम्पर्कविहीन रहेको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आइतबार संसद् बैठकमा इजरायलमा भएको घटनालाई सरकारले गम्भीरताका साथ लिएको बताए । आइतबार नै प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा इजरायल समस्या समन्वय संयन्त्रसमेत बनाएको छ । नेपालीहरूको अवस्था पहिचान, उद्धारसम्बन्धी निर्णय लगायतका सम्पूर्ण काम यो संयन्त्रले गर्नेछ । सांसदहरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद पदम गिरीले इजरायलमा रहेका नेपाली नागरिकको जीवन रक्षा र उद्धारमा सरकार गम्भीर हुनुपर्ने बताए । सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि किबुज अलुमिनमा रहेका विद्यार्थी अन्य कामदारको तुलनामा बढी प्रभावमा परेको त्यहाँ अध्ययनरत विद्यार्थी रईस रिजासले जानकारी दिए । कृषि विज्ञान संकायका ती विद्यार्थी गत भदौ २५ र २६ गते इजरायल गएका थिए । यसैगरी एनआरएनए एनसिसि इजरायलका पूर्वअध्यक्ष गणेश गरीका अनुसार केही नेपाली घाइते भएको मृत्यु भए पनि अन्य नेपाली भने सुरक्षित वातावरणमा नै छन् । पछिल्लो समय अध्ययनसहित काम गर्न गएका विद्यार्थीको संख्या इजरायमा बढ्दै गएको छ ।

नेपालबाट अध्ययन तथा काम गर्न गएका नेपाली बस्ने स्थान इजरायलको द्वन्द्वग्रस्त क्षेत्र गाजापट्टी सिमानामा रहेको छ । नेपालबाट कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका मध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा कार्यरत थिए । यीबाहेक पनि इजरायलमा जीटुजीमार्फत केयरगिभरको रुपमा गएका नेपालीको संख्या १ हजार १ सय रहेको छ । केही होम केयर सेन्टर तथा कृषि क्षेत्रमा पनि नेपाली कार्यरत छन् । नेपाली समयअनुसार शनिबार बिहान ६:३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजराइलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार अहिलेसम्म ६०० भन्दा बढीको मृत्यु भइसकेको छ भने कतिपयलाई हमास समूहले अपहरण र बन्धक बनाएको छ । हमासले जल, हवाई र स्थलमार्गबाट इजरायलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण गरेको हो । इजरायलको तर्फबाट पनि जवाफी कारबाही हुँदा गाजा क्षेत्रमा मानवीय क्षति भएको जनाइएको छ ।

मृतक, उपचाररत तथा सेल्टरमा रहेका नेपाली
प्रमोद केसी (कार्यस्थलमा)

विरेन्द्र चौधरी (प्रहरी संरक्षणमा)

नारायण प्रसाद नेउपाने (मृत्यु)

गणेशकुमार नेपाली (मृत्यु)

आशिष चौधरी (मृत्यु)

दिपेशराज विष्ट (मृत्यु)

आनन्द शाह (मृत्यु)

राजेश कुमार स्वारांकर (मृत्यु)

राजन फुलारा (मृत्यु)

पदम थापा (मृत्यु)

प्रवेश भण्डारी (मृत्यु)

लोकेन्द्र सिं हधामी (मृत्यु)

विधान सिजवाल (अस्पतालमा)

प्रविन डाँगी (अस्पतालमा)

धन बहादुर चौधरी (अस्पतालमा)

हिमाञ्चल कट्टेल (अस्पतालमा)

विपिन जोशी (सम्पर्कविहीन)

तपाईको प्रतिक्रिया