एमयूद्वारा क्लिनिकल लिगल एजुकेसन कार्यक्रम

blogसुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले क्लिनिकल लिगल एजुकेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कानुन सङ्कायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धानको दायरा फराकिलो बनाउन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनासँगको समन्वयमा क्लिनिकल लिगल एजुकेसन कार्यक्रम अघि बढाइएको छ । विद्यार्थीले कर्णालीका पाँच जिल्लाका १५ स्थानीय तहमा पुगेर स्थलगत अध्ययन प्रतिवेदन बुझाउनुपर्ने मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल का निर्देशक सुरेन्द्र अधिकारीले बताउनुभयो । उक्त कार्यक्रम अन्तर्गत कानुन सङ्काय स्नातक तहका चार वटा सेमेस्टरका गरी ५० जना विद्यार्थीले अध्ययनमूलक स्थलगत अनुसन्धान गर्नेछन् । ‘‘यो अनुसन्धानको उद्देश्य समुदायका कानुनी सवालमा विद्यार्थीलाई पनि साक्षात्कार गराउने र जोड्ने रहेको छ,’’ निर्देशक अधिकारीले भन्नुभयो, ‘‘यसबाट समुदायमा कानुनी साक्षरता र सहायता प्रदान हुनेमा विश्वास लिइएको छ ।’’ खासगरी विद्यार्थीको अनुसन्धानमूलक कार्य भएकाले थुप्रै कानुनी सवालको उजागरसमेत हुने लक्ष्य राखिएको छ ।

विद्यार्थीहरूले यस कार्यक्रमअन्तर्गत छाउपडी, छुवाछुत, जातीय भेदभाव, घरेलु हिंसा, ज्याला मजदरी, लागू औषधलगायत विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने छन् । यो अध्ययनले नीतिगत प्रभावकारिताको अवस्था हेर्ने, कानुन संशोधन गर्नुपर्ने भएमा सुझाव दिने र नयाँ कानुन निर्माणमा सहयोग पुर्‍याउने पनि अपेक्षा लिइएको छ । विद्यार्थीले दैलेखको गुराँस र नौमुले गाउँपालिका तथा आठबीस नगरपालिका, जाजरकोटको छेडागाड, भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका, रुकुमपश्चिमको आठबिसकोट, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका, कालीकोटको खाडाचक्र नगरपालिका, सान्नी त्रिवेणी र पलाता गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा कानुनी सहायता शिविर, कानुनी सचेतना अभियान, न्यायिक समितिको न्याय सम्पादन प्रक्रियामा सहयोग, विपन्न सीमान्तकृत समुदायका सवालबारे स्थलगत अध्ययन गरी कानुनी परामर्श प्रदान गर्नेछन् ।छुट्टाछुट्टै समूहमार्फत विद्यार्थीले समुदायमा स्थलगत अध्ययन गर्ने गरी तयारी थालिएको संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका संयोजक इमान सुनारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया