
जाजरकोट । छेडागाड नगरपालिका लाई कर्णाली प्रदेशको प्रथम अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा कार्यान्वयन गर्ने नगरपालिका घोषणा गरिएको छ । छेडागाड नगरपालिका प्रमुख रत्न खड्काले शैक्षिक ब्यवस्थापन तथा सुधारका १० बुद्दे प्रतिबद्धता सहित छेडागाड नगरपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित भएको नगरपालिका घोषणा गरेका हुन् ।
“हामी सबैको एउटै ईच्छा, बालबालिकाहरुका लागी अनिवार्य तथा निःशुल्क शिक्षा” भन्ने मुल नारा सहित बिभिन्न कार्यक्रमहरु गरी जिल्लाको छेडागाड नगरपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा नगर घोषणा गरिएको हो ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा छेडागाड नगरपालिकाको अनिवार्य तथा आधारभुत शिक्षा कार्यान्वयन निर्देशिका २०७७ बमोजिम जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका आधारभुत तह(४ बर्ष देखि १२ बर्ष सम्मका) शतप्रतिशत बालबालिकाहरु बिद्यालयमा भर्ना तथा निरन्तरता भएकोले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको नगरप्रमुख खड्काले बताए ।
घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले नागरिकका असंख्य आवश्यकताको र समग्र छेडागाडको शैक्षिक, भौतिक लगायतको बिकास गर्नका लागी आफु सदैब प्रतिबद्ध रहेको बताए । अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि तोकिएका सुचकहरु पुरा गर्न नगरपालिलाई पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनले आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए ।
उक्त घोषणा कार्यक्रम छेडागाड नगरपालिकाको आयोजना तथा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राबिधिक सहयोगमा सम्पन्न गरिएको थियो । पालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख दिपक शाहीले नगरपालिकाको समग्र शैक्षिक अवस्था र अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा घोषणाको प्रक्रिया, पालिकाको नितीगत ब्यबस्थाको बारेमा, गुणस्तरिय शिक्षाका लागी सरोकारवालाहरुको भुमिका लगायतको बारेमा जानकारी दिएका थिए ।
अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यक्रमले बालबालिकाको विद्यालय छोड्ने दर शुन्य बनाउने, कक्षा दोहो¥याउने दर घटाउने, उत्तिर्ण दर बढाउने, टिकाउ दर बढाउने र तह पार गर्ने दर बढाउने, बालअधिकारको सुनिश्चितता गर्ने लगायतका सुचकहरुको सुनिश्चितता हुने उनले बताए । छेडागाडमा विद्यालय बाहिर रहेका २ सय २३ जना बालबालिका मध्य ४ जना बाहेक सवै सतप्रतिशत अर्थात १० हजार ४ सय २६ बालबालिका विद्यालयको पहुँचमा पुगेका छन् ।
















































हाम्रो पहुँच संवाददाता । १३ आश्विन २०८०, शनिबार