अध्ययनमै १५ वर्ष मान्म–कोटबाडा केबुलकार

blogकालीकोट । मान्म कोडबाडा केबुलकार सम्भाव्यता अध्ययनमै सीमित रहेको छ । सदरमुकाम मान्मको कोटदरबारदेखि कोडबाडा जोड्ने दुई हजार एक सय ५७ मिटरको दूरीमा रहने केबुलकारको डिपिआर तयार गरे पनि अहिलेसम्म यसको निर्माणमा भने अन्यौलता रहेको छ ।नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमान स्थलसम्म पुग्न र विमान स्थलबाट सदरमुकाम मान्म पुग्न छिटो छरितो र सहज होस् भन्ने हेतुले निर्माण गर्न लागिएको केबुलकार अहिलेसम्म अध्ययनमै सीमित भएको हो । मान्म कोडबाडा केबुलकार बने नेपालकै प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिर जान सहज हुने भए पनि केबुलकार निर्माणमा ढिलासुस्ती भएको छ ।

नहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टले २०६४ सालदेखि केबुलकारको कुरा उठेको भए पनि सम्भाव्यता अध्ययन गर्न मात्रै १५ वर्ष लागेको स्थानीयले बताएका छन् । खाँडाचक्र नगरपालिका–१ का स्थानीय रामचन्द्र नेपालीले सम्भाव्यता अध्ययन गर्न मात्रै १५ वर्ष लाग्दा केबुलकार निर्माणमा भएर आउजाउ गर्ने आशा नै मारेको बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले केबुलकार निर्माण हुने हो कहिले आवतजावत गर्न मिल्ने हो मैल त आशा नै मारिसके ।”पूर्वाधार विकास कार्यालय कालीकोटका अनुसार केबुलकार निर्माणमा एक अर्ब १४ करोड चार लाख ६५ हजार आठ सय ९० रुपियाँ लागत अनुमान गरिएको छ । अहिले यस वर्ष पाँच करोड रुपियाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ । डिपिआर रिपोर्ट पनि अधुरै रहेकाले बजेट आए पनि काम सुरु हुनसकेको छैन । निर्माण कम्पनीले १७ लाख ३० हजार रुपियाँमा डिपिआर सम्झौता गरे पनि सात लाख रुपियाँ मात्र पेस्की लगेको छ ।

नरहरिनाथको कोडबाडा–१ मा सुनथराली विमानस्थल निर्माण गरिएको तिन दशक पछि सम्पन भए पनि जहाज उडानमा कुनै सुरसारनै छैन । कर्णाली प्रदेशका सांसद हिक्मत विष्टले विमानस्थलमा नियमित उडान र केबुलकार निर्माणमा निरन्तर पहल गरिरहेको बताउनुभएको छ । कालिकोटवासीले मान्म–कोडबाडा केबुलकार निर्माण छिटो गर्न सांसद र मन्त्रीहरूलाई सुझाव दिएका छन् । केबुलकार निर्माण भए पर्यटन प्रवर्द्धनका साथै आवतजावत गर्न पनि सहज हुने आम अपेक्षा रहेको छ ।

तपाईको प्रतिक्रिया