मूल्य नपाउँदा गोदाममै कागती

blog
रुकुम पश्चिम । रुकुमपश्चिममा उत्पादित कागतीले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–१ मा मात्रै करिब ४० क्विन्टल कागती उत्पादन हुने गरेको छ । त्रिवेणी गाउँपालिका–१, रुघाका किसान पदमबहादुर मल्लको छ सय बोट कागती छन् । बिक्रीका लागि आठ क्विन्टल टिपिए पनि उचित मूल्य र बजार नपाउँदा घरमै थन्काएर राखिएको छ ।

सोही गाउँका किसान तिलक घर्तीले बारीबाट टिपेर घरमा राखिएका कागतीले बजार नपाएर कुहिने अवस्थामा पुगेको छ । उहाँका अनुसार सात क्विन्टल कागती टिपिएको छ । उहाँले किसानका उत्पादनले समयमै बजार पाउने व्यवस्था मिलाउन स्थानीय सरकारसँग माग गर्नुभयो ।

त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष सुन्दर ओलीका अनुसार आफ्नो वडामा करिब ४० घरघुरी किसानले व्यावसायिक रूपमा कागती खेती गरेका छन् । वडाको तलिगाउँ, माथिगाउँ, डाडाँगाउ, दाङचुङ, बल्ले, सिन्तुवा, दहभागे र भेराखर्क टोलमा कागती खेती हुने गरेको छ । अहिले उत्पादन भएका कागती बजार नपाउँदा सबै किसानले घरमा थन्काउन बाध्य भएको बताइन्छ ।

कतिपय किसानले डोकोमा बोकेर जिल्ला सदरमुकाम खलङ्गा बजारमा ल्याएर कागती बिक्री गर्ने गरेका छन् । अधिकांश किसानका कागती अहिले घरमै थन्किएका छन् । गाउँपालिकासमेतको ध्यानाकर्षण गराएर कागतीको बजारीकरणका लागि व्यापारीसँग कुराकानी भइरहेको वडाध्यक्ष ओलीले बताउनुभयो ।

रुकुमपश्चिमको सदरमुकाम मुसीकोटलगायत बजारमा कागती प्रतिकिलो ७० रुपियाँमा बिक्री हुने गरेको छ । स्थानीय बजारमा प्रतिकिलो ५० रुपियाँको दरले बिक्री हुने गरेको छ । त्रिवेणी गाउँपालिकाका–१ र २ सहित अन्य वडामा समेत उत्पादन भएको कागतीले बजार पाउन सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया