जाजरकोट । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा जाजरकोटका शिक्षक रामबहादुर शाहीले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुशे ७ समाकोटका प्रधानाध्यापक शाहीले उत्कृष्ट कार्य सम्पादन गरेवापत नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसरमा जाजरकोट जिल्लाबाट सामुदायिक विद्यालयका शिक्षक मध्य यस बर्षको शिक्षा पुरस्कार शाहीलाई प्रदान गरेको हो ।
सिकाई उपलब्धी राम्रो गरेको, शिक्षक विद्यार्थी उपस्थिति दर उत्कृष्ट रहेको , बालमैत्री सिकाई र गुणस्तरीय पठनपाठन गरि विद्यालयलाई उत्कृष्ट बनाउन सफल भएको कारण शाहीलाई पुरस्कारका लागि सिफारिस गरिएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताए ।
त्यस्तै, शिक्षण सिकाई बालमैत्री बनाएको, विद्यालय ब्यवस्थापन, सुचना प्रणालीलाई ब्यवस्थित गरेको लगायतका कार्य गरेर नमुना विद्यालय बनाउन सफल शाहीलाई जिल्ला, प्रदेश हुँदै मन्त्रालयले पुरस्कृत गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रमेश मल्लले बताए ।
२०१८ सालमा स्थापित श्री नेपाल राष्ट्रिय मा बि कुशे ७ समाकोटमा शाही आउनु भन्दा अघि विद्यालयको अवस्था भौतिक र शैक्षिक दुवै रुपमा एकदमै नाजुक थियो । २०७१ सालमा प्राथमिक तह सोलुखुम्बुमा स्थायी भएका शाही दिपेन्द्र मा बि मुल्साम जाजरकोट २०७२ चैत मा जिल्लाअन्तर सरुवा २०७५ माघमा महादेब प्रा बि कुशे ८ लाता मा सरुवा र २०७६ माघमा हालको समाकोट माविमा सरुवा भै आएका हुन् ।
त्यस्तै संस्थागत विद्यालयको तर्फबाट नरपदम फ्रेन्डसीप नरबहादुर खड्का , बालविकास सहजकर्ताको तर्फबाट जनता बाल बालविकास केन्द्र छेडागाड ५ पवित्रा खत्री पुरस्कृत भएका छन् ।
हाम्रो पहुँच संवाददाता । ३ आश्विन २०८०, बुधबार