छेडागाडकाे नगर अस्पताल भवन निर्माण संरचना घटाएर पहिरो नियन्त्रणपछि मात्र

जाजरकोट । छेडागाड नगरपालिकाको नगर अस्पताल भवन निर्माणकार्यले निरन्तरता पाउने भएको छ । पहिरोका कारण अलपत्र बनेको १५ शैयाको अस्पताल भवनका केही संरचना घटाएर निर्माण गर्ने सहमति भएपछि निर्माणकार्य सुरु हुने भएको इन्जिनियर प्रेम केसीले बताए ।

भवन निर्माणको एक वर्ष म्याद थपेर आवासको संरचना निर्माण नगर्ने गरी सोवापतको बचेको झण्डै दुई करोड रकमबाट पहिरो नियन्त्रण गर्ने गरी सहमति भएको केसीले बताए । अहिले नगर अस्पताल निर्माण ढिला भएपछि अस्पतालको सेवा निजी विद्यालयको भवनबाट सञ्चालित छ ।

यही २०८० असार मसान्तसम्म भवन हस्तान्तरण गर्ने गरी २०७७ असारमा माउन्टेन इन्फा कम्पनी लिमिटेड लाजिम्पाट काठमाडौंले नगर अस्पताल निर्माणको जिम्मा लिएको थियो । १५ शैयाको उक्त अस्पताल छेडागाड नगरपालिका–११ सिम्लीमा निर्माण सुुरु भएको एक वर्षपछि निर्माण व्यवसायीले काम गर्न छाडेका थिए । एक तला निर्माण सम्पन्न भएको उक्त भवन पहिराका कारण रोकिएको छ ।

वर्षायाम पूरै सकिएपछि मात्र निर्माण कार्य सुरु हुने इन्जिनियर केसीले बताए । भवन निर्माणको काम गरिरहेका व्यवसायीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गलत भएका कारण आफूले काम गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै काम रोकेपछि केही संरचना निर्माण नगरी काम सञ्चालन गर्न सहमति भएपछि अबको केही दिनमा काम सुरु हुने भएको छ । अस्पताल निर्माण भइरहेको ठाउँमा दुई सय मिटर जमिन भासिएकाले निर्माण व्यवसायीले घाटा लाग्ने भन्दै काम गर्न अस्वीकार गर्दै आएका थिए ।

डीपीआर तयार गर्दा नै गलत तरिकाले बनाएकाले अहिले समस्या आएको नगर उपप्रमुख थापाको भनाइ थियो । ‘डीपीआर निर्माण गर्ने समूह, नगरपालिका र निर्माण व्यवसायीबीचमा छलफल भए पनि भवन निर्माणलाई निरन्तरता दिने विषयमा अझै ठोस सहमति भइसकेको छैन,’ उनले भने । पहिरो रोकथाम नगरी भवन निर्माण अगाडि बढाउनसक्ने अवस्था नभएकाले पहिरो नियन्त्रणका लागि दुई करोड आवश्यक पर्ने नगर उपप्रमुख थापाले बताए ।

उनका अनुसार थप रकमका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । सम्झौतामा १८ करोडमा उक्त भवन निर्माण गर्ने सहमति भएको थियो । एलाइट इन्जिनियरिङ सोलोसन काठमाडौंले उक्त भवनको डीपीआर तयार गरेको नगरपालिकाका इन्जिनियर प्रेम केसीले बताए । ‘संघीय सरकारबाट प्राप्त १८ करोडमध्ये ठेक्का हाल्दा १४ करोडमा सम्झौता गरेर निर्माण व्यवसायीले काम सुरु गरेका थिए,’ उनले भने ।

इन्जिनियर केसीका अनुसार उक्त ठाउँमा भवन निर्माण नहुने सम्भावना बढेपछि अब संरचना घटाएर सो संरचनाको रकमबाट पहिरो नियन्त्रण गरेर काम हुन लागेको छ । १९ लाख खर्च गरेर बनाएको डीपीआर नै गलत भएपछि अब कसरी काम गर्ने भन्ने चिन्ता उत्पन्न भएको नगरपालिकाका कर्मचारी बताउँछन् ।

भवन निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले आफूले पूरै भवन बनाउन खाजे पनि गलत डीपीआरका कारण निर्माण पूरा गर्दा थप समस्या आउने भएकाले पहिरो नियन्त्रण गरेरमात्र काम अगाडि बढाउनुपर्ने बताउँदै आएका छन् ।

निजी विद्यालयमा नगर अस्पताल
छेडागाड नगरपालिकाको नगर अस्पताल अहिले निजी विद्यालयको भवनबाट सञ्चालित छ । भवन निर्माण सुरु भए पनि काम सम्पन्न नभएकाले विद्यालयबाट सेवा दिनुपरेको अस्पतालका प्रमुख धनिषकुमार खड्काले बताए । ‘नाममात्रको अस्पताल बन्न पुगेको छ । डाक्टर, स्टाप नर्स, एचए, ल्याब टेक्निसियन र ल्याब असिस्टेन्टमा एकजना पनि स्वास्थ्यकर्मी नहुँदा अस्पतालका साबै काम ठप्प छन्,’ उनले भने ।

प्रमुख खड्काका अनुसार अस्पतालमा बत्तीको समेत समस्या छ । ६ जना स्टापनर्सको दरबन्दीमा एकजना पनि नभएको उनले बताए । ‘बर्थिङ सेन्टर र नगर अस्पताल अलग ठाउँमा हुँदा अर्को समस्या थपिएको छ । एचएको दरबन्दी चार रहे पनि एक जना करारको बाहेक अरु छैनन् । ल्याब सेवा तीन महिनादेखि बन्द छ,’ उनले भने ।

प्रमुख खड्काका अनुसार ल्याब असिस्टेन्टको दुईजना दरबन्दी पनि खाली छ । ‘ल्याब टेक्निसियन एक जनाको दरबन्दी भए पनि अहिले उनी सुत्केरी बिदामा छिन्,’ उनको भनाइ थियो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट एक वर्ष अगाडि पठाएको भिडियो एक्स–रे, ईसीजी, भेन्टिलेटर र अक्सिजन मेसिन प्रयोगमा आउन नसकेको उल्लेख गर्दै प्रमुख खड्काले कर्मचारी अभावका कारण सबै सामान थन्काएर कोठा बन्द गरी राख्नुपरेको बताए ।

तपाईको प्रतिक्रिया