बेपत्ता मेजरको शव १६ दिनपछि फेला


सुर्खेत । डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलवार भेरी नदीमा शव फेला परेको प्रहरीले जनाएको छ।

सोह्र दिनदेखि बेपत्ता रहेका त्रिपुरासुन्दरी नगरपालिका-५ करबगाडस्थित चिण्डेबगर नजिक भेरी नदीको किनारमा शव फेला परेको हो।

त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवमल सार्कीले माछा मार्न गएका वेला बिहान ६ बजे भेरीको किनारमा लास देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए। दुईवटा ढुङ्गाको खोल्सामा ठूलो शरीर भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छीऔँलामा औँठी देखेपछि प्रहरी चौकीमा पुगेर खबर गरेको उनले बताए ।

सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरीले जिप्रकामा खबर गरेलगत्तै प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा सेनाका मेजर रवि शाहको टोली चिण्डेबगर पुगेको थियो ।

प्रनाउ बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपति ध्रुव कार्कीको टोली समेत पुगेपछि शव बाहिर निकालिएको थियो। घडी र औँठीबाट शव बेपत्ता मेजरको भएको पुष्टि भएको घटनास्थलमा पुगेका प्रनाउ बुढाथोकीले बताए ।

शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको पनि प्रहरी प्रमुख बुढाथोकीले बताए। शव पहिचानका लागि मेजरका दाइ कुमार पण्डित समेत घटनास्थल पुगेका थिए। काठमाडौँस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया