कर्णाली करिडोर : चट्टानी भिरको अधुरो काम सेनालाई दिन माग

blog
हुम्ला । हुम्लावासीले कर्णाली करिडोर अन्तर्गत दुल्ली कुनादेखि याल्वाङ गौडाको भिरसम्म पर्ने छ वटा असजिला चट्टनी भिरको सडक पूर्ण निर्माणको जिम्मा नेपाली सेनालाई दिन माग गरेका छन् । हाल सडक विभाग अन्तर्गत हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कम्पनीमार्फत निर्माणकार्य सुस्त गतिमा गरिरहेको कारण सदरमुकाम सिमकोटसम्म राष्ट्रिय सडक सञ्जाल जोड्न ढिलाइ हुने निष्कर्ष निकाल्दै जिल्लावासीले सो काम सेनाद्वारा गर्दा छिटो हुने निष्कर्ष निकाल्दै सो माग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लामा बसेको सर्वपक्षीय बैठकले आयोजनाले निर्माण कम्पनीमार्फत निर्माण भएर सडकको लेबल नमिलेका छ वटा चट्टानी भिरका सडकहरु सर्केगार्ड गाउँपालिका-४ को दुल्लीकुना, थाहा भीर, खार्पुनाथ गाउँपालिका–१ को बोक्चे गौडा र भिगौडा भिर र नाम्खा गाउँपालिका–२ को च्याछरा र याल्वाङ भिरको काम नेपाली सेनाको निर्माण दिन नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको बताउनुभयो ।

छ वटै असजिला चट्टानी भिरमा हाल हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कम्पनीमार्फत गरेको कामले सडकको लेभल मिलाउन ढिलाइ गरेको कारण सेनाको जिम्मा दिन माग गरिएको हो । कर्णाली प्रदेश सभाका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको आयोजनामा निर्माण कम्पनीले गरिरहेको काम निक्कै सुस्त गतिमा भइरहेको र भएको काम पनि गुणस्तरीय नभएको कारण सेनालाई दिनुपर्ने बताउनुभयो । उहाँले यसले गर्दा यसै आर्थिक वर्षभित्र सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोड्ने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न पनि यी असजिला सडकको गुणस्तरीय निर्माण गर्ने काम सेनालाई दिनु आवश्यक रहेको बताउनुभयो ।

यो छ वटै चट्टानी भिरको सडक निर्माण भएर ट्रयाक खुलाउने कार्य भए पनि सडकको लेभल नमिलेको कारण यात्रु बोकेका गाडी चढ्न नसक्ने अवस्था छ । निर्माण कम्पनीले आवश्यक मेसिन नभएको र चट्टानी भिरमा विस्फाेट गर्नका लागि आवश्यक पर्ने विस्फाेटक पदार्थको व्यवस्था गर्न पनि ढिलाइ हुने भएको कारण सेनालाई दिनु उपयुक्त भएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताउनुभयो ।

यो माग जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलहरु, नागरिक समाज लगायत सबै सरोकारवाला पक्षको हो । हाल नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरको हुम्ला खण्डको दुल्लीकुनादेखि लालीबगरसम्मको ११ किलोमिटर सडकमा काम गरिरहेको छ । यसअघि कवडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडक निर्माण गरेर आयोजनालाई हस्तान्तरण गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया