तीन महिने कम्प्युटर तालिम


जाजरकोट । सामाजिक विकास कार्यालय जाजरकोटले २० जना लोपोन्मुख तथा सिमान्तकृत समुदायका युवायुवतीलाई कम्प्युटर तालिम प्रदान गरेको छ । उनीहरुको क्षमता विकास गर्ने उद्देश्यले तीन महिने (तीन सय ९० घण्टा) कम्प्युटर तालिम प्रदान गरिएको हो । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग, भेरी शिवालय टेक्निकल प्रा.लि तथा दरबार अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आयोजना र श्रीगणेश सामुदायिक सिकाई केन्द्रको समन्वयमा सदरमुकाम खलंगामा संचालित तालिममा हलिया, बादी, माझी र गन्धर्व समुदायका २० जना युवायुवतीको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई आवासिय सुविधा समेत प्रदान गरिएको थियो ।


सिप सिकौ, आत्म निर्भर बनौ, प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ लोपोन्मुख तथा सीमान्तकृत समुदायका युवाहरुका लागि गत आर्थिक बर्षको कार्यक्रम अन्र्तत गत असारमा सुरु भएको तालिम शुक्रवार एक कार्यक्रमका विच समापन गरिएको छ । सामाजिक विकास कार्यालयका प्रमुख यज्ञश्वर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिका जिल्ला संयोजक कालीबहादुर खत्रीले सिकेको सीपको सदुपयोग गरेर सहज जीवन निर्वाहका लागि शुभकामना दिए ।उनले तालिममा सिकेको सिपले ब्यवसाय गरेर जीविकोपार्जनमा टेवा पुरयाउने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथि भेरी नगरपालिकाका उपप्रमुख सिता जैसी, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कार्की, गन्दर्भ समाजका अध्यक्ष जस्विर गन्दर्भ, बादी समाज विकास मञ्चका कार्यकारी निर्देशक दीपक नेपाली, प्रशिक्षक पवन शर्मा, भेरी शिवालय टेक्निकल प्रा.लि का प्रविण नेपाली लगायतले तालिममा सहभागी सवैको उत्तरोउत्तर प्रगतिका लागि शुभकामना ब्यक्त गरेका थिए । प्रशिक्षार्थीको तर्फबाट कुशे ५ का रामबहादुर बादी र शिवालय ९ कि मिना बादीले भनाई राखेका थिए । उनीहरुले आफुहरुलाई सीप सिक्ने अवसर दिएकोमा सरोकारवाला सवैलाई धन्यवाद दिए । तालिममा अझै धेरै कुरा सिक्न बाँकी रहेकाले थप रिफ्रेसर तालिम दिनुपर्ने माग गरे ।

कार्यालय प्रमुख खत्रीले मन्त्रालयले आर्थिक बर्षको अन्तिममा बजेट पठाएको तर पनि आफुले रिस्क लिएरै भएपनि लोपोन्मुख तथा सीमान्तकृत समुदायका युवायुवतीका लागि कम्प्युटरका साथै सिलाईकटाई, हाउसवाइरिङ्ग र ड्राइभर तालिम गरी ५२ जनालाई तालिम दिन सफल भएको बताए । प्रदेश सरकारले उपलब्ध गराएको ६० लाख बजेट बाट तालिम प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया