डोल्पामा नेपाली सेनाका गुल्मपति दुई दिनदेखि बेपत्ता

blog
डोल्पा । नेपाली सेनाको दुनैस्थित एक गुल्मका गुल्मपति दुई दिनदेखि बेपत्ता भएका छन् । सदरमुकाम दुनै सुरक्षार्थ नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित बेपत्ता हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्कनुभएको गुल्मपति पण्डित साँझसम्म पनि नफर्किनुभएपछि खोजी कार्य भएको थियो ।

त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि गुल्मपति पण्डित कतै नभेटिनुभएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

दुई दिनदेखि बेपत्ता पण्डितको मोबाइल नम्बर पनि अफ भएको बताइएको छ ।

बेपत्ता गुल्मपति पण्डितको नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले उहाँ सम्पर्कमा नआउनु भएकाले खोजी कार्य जारी राखिएको बताउनुभयो । अङ्गरक्षकलाई समेत नलिएर एक्लै हिँड्नु भएकाले पनि के कामले कता जानुभएको हो भन्ने कुरा जानकारी हुन समस्या भएको प्रजिअ पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया