जाजरकोट । नलगाड नगरपालिका –४ पिपलचौरका मगबहादुर सिंह बाँदर धपाउन दिनभर बारीमै जागराम बस्छन् । बाँदरले मकै खाइदिने र नष्ट गर्न थालेपछि मकै बाली जोगाउन मुस्किल परेको छ । चारैतिरबाट बाँदर आएर मकै खाइदिने गरेपछि विहानै उठेर बारीमा जानुपरेको सिंहको भनाई छ । सिंह मात्र होइनन् पिपलचौरका चक्रबहादुर रावल, पवित्रा रावल, मनबहादुर खत्री, सुनिल खत्री, जीवन रावल, टोपबहादुर रावल, शेरबहादुर रावल, पम्फा थापा, भागन्त वली, कालिबहादुर वली, पे्रमबहादुर वली लगाएत गाउँका किसान मकै बारीमै समय बिताउन बाध्य छन् ।
यहाँका किसानलाई बाँदर, दुम्सी र स्यालले लगाएको बाली नष्ट गर्न थालेपछि आफुहरुलाई बर्खे बाली जोगानै मुस्किल परेको किसान भागन्त वलीले बताए । ‘यहाँको प्रमुख बाली नै मकैखेती हो यो पनि बाँदर, दुम्सी र स्यालले खाइदिन्छ, वलीले वलीले भने ।’
छ महिना देखि बर्षभरी खान पुग्ने मकैखेती सखाप पारेपछि चिन्तामा किसान छन् । “जङ्गली जनावरले मकै सखाप पार्दै आएपछि जोगाउन बारीमै जागराम बस्नुपर्ने बाध्यता रहेको अर्का किसान मनबहादुर खत्रीको भनाइ छ । पहिले बाँदर, दम्सी र स्यालले कमै मात्र मकैमा क्षेती गर्ने गरेको थियो, अहिले त सबै सखापै पारिदिन्छ’, किसान खत्रीले भने ।
जिल्लाको अधिकांश भेगमा लगाइएको मकै बाली जङ्गली जनावरले सखाप पारी दिँदा किसानहरू चिन्तित भएका छन् । कतै बँदेल, दुम्सीले क्षेती गर्छ भने कतै बाँदर र स्याल लगायतका जनावरको हुल मकैवारीमा पसी सखाप पारी दिँदा कृषकहरूमा निराशा छाएको हो । वैकल्पिक अन्नबाली नहुने अधिकांश भेगमा मकैवालीलाई मुख्य आधार मान्दै आएका किसान भित्र्याउने बेलामा जङ्गली जनावरको आहारा बने पछि निरास हुने गरेका छन । मकैवाली जङ्गली जनावरले सिद्ध्याई दिँदा आफूहरूले समस्या भोग्नु परेको नलगाड ४ सिलाजका कृषक मन्दरा रावलको गुनासो छ ।
जङ्गली जनावरले बालीनालीमा क्षति पुर्यायो भने सरकारले किसानहरुलाई राहत दिने ब्यवस्था छ तर जङ्गली जनावरले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्ने काम नहुदा यहाँका किसान राहत पाउनबाट बन्चित हुनेगरेका नलगाड ४ का वडाध्यक्ष बद्री पन्तले बताए । नगरपालिकाबाट राहत दिने कुनै नीति नबनाएको अध्यक्ष पन्तले बताए । बारेकोट गाउँपालिका २ रोकायगाउँका रतनबहादुर नेपाली रातभरी खेतमै जागराम बस्छन् । दिउँसो बाँदर आएर मकै सखाप पारिदिन्छन् रात्ती स्याल, बदेल, भालु र दुम्सीले । खेतवारीमै रातदिन विताउँछन् रतनबहादुर । उनी मात्र होइन् बारेकोटका मुल्साम, रोकायगाउँ, रामीडाँडा, रुम्सिलका किसानहरु मकै जोगाउन खेतवारीमै वास बस्न बाध्य छन् ।
हाम्रो पहुँच संवाददाता । ९ भाद्र २०८०, शनिबार