जाजरकोटमा सुरु भयाे लाखे नाचकाे राैनक

No description available.
जाजरकोट । डेढ सय वर्षदेखि जाजरकोट खलंगामा नाचिँदै आएको लाखे नाच आज (सोमबार) देखि सुरु भएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वय र स्थानीय नेवार समुदायको संयुक्त पहलमा सुरु भएको लाखे नाच यस वर्ष साउन महिनामा मलमास परेका कारण भदौदेखि मात्र सुरु गरिएको हो ।

खलंगामा शनिबार बसेको सरोकारवालाहरुको बैठकले भदौ ४ गते खलंगा बजार क्षेत्रमा रहेका विभिन्न पाँचवटा मन्दिरको परिक्रमा गरेर गैरीखालीबाट लाखे नाचको सुरुवात गरिएको हो । लाखेनाच व्यवस्थापन समिति संयोजक जनक भँडेलका अनुसार कर्णाली प्रदेश स्थापना दिवसकै दिन खलंगाको गैरीखालीमा रहेका कालिका मन्दिर, बजुदेवीको मन्दिर, कृष्ण मन्दिर, बाहुनबाडाको रामजानकी मन्दिर र काजीबाडाको राधाकृष्ण मन्दिर परिक्रमा गरी गैरीखालीस्थित बाल मन्दिरको प्रांगणमा पुगेर लाखे नाचको सुरुवात गरिएको हो ।

No description available.

विगत वर्षहरुभन्दा फरक ढंगले लाखे नाच व्यवस्थित मौलिक र मर्यादित रुपमा सञ्चालन गर्न जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वय र स्थानीय नेवार तथा अन्य समुदायका व्यक्तिहरुको सहभागितामा पहल अघि बढाइएको पनि संयोजक भँडेलको भनाइ छ । उनले लाखे नाच व्यवस्थित मर्यादित र आकर्षक वनाउन विभिन्न व्यक्ति र निकायसँग आवश्यक समन्वय गरिएको जानकारी दिए । ‘विगतका कमी-कमजोरी छाड्दै मौलिकता जोगाउँदै लाखे नाच सञ्चालन गरिएको र सबैको साथ र सहयोग जरुरी रहेको छ,’ अध्यक्ष भँडेलले भने ।

जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले भक्तपुरका नेवार गोविन्दमान भँडेललाई जाजरकोट ल्याएर सुरु गरेको लाखे नाच विगत केही समय सरोकारवालाहरुको बेवास्ताका कारण ओझेलमा परेको थियो । जिल्लाको महत्त्वपूर्ण पुरातात्त्विक सम्पदा भएकाले यसको संरक्षणमा आफूहरुले आवश्यक समन्वय गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले जानकारी दिए । खलंगामा लाखे नाच यस वर्ष भदौ ४ देखि २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया