राष्ट्रिय युवा संघ कर्णालीको अध्यक्षमा तीन जना आकाङ्क्षी


सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको अधिवेशन यही भदौ ६ र ७ गते हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने उक्त अधिवेशनमा अध्यक्ष र सचिव पदका लागि चर्चा समेत गर्न थालिएकाे छ।

नेकपा एमाले निकट जनवर्गिय संगठन युवा संघको पहिलो पट्क हुन लागेको प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि तीन जना युवाले आकाङ्क्षी देखाएका छन्। जसमा जाजरकोटका लोकेन्द्र गौतम, दैलेखका जीवन शाही र सुर्खेतका कमल विसी रहेका छन्।

अध्यक्षका लागि आकाङ्क्षी रहेका जाजरकोटका गौतम युवा संघ नेपालका कर्णाली सह–संयोजक समेत हुन्। यस्तै दैलेखका जीवन शाही राष्ट्रिय युवा संघ नेपाल, दैलेखका वर्तमान अध्यक्ष हुन्। शाहीसँग यो सँगै गरेर दुई पट्क जिल्ला अध्यक्ष बनेर काम गरेको अनुभव रहेको छ।

अध्यक्षका लागि अर्का आकाङ्क्षी सुर्खेतका कमल विसी रहेका छन्। उनि युवा संघका पुर्वकेन्द्रीय सदस्य हुन्।

यस्तै, युवा संघको कर्णाली संयोजक समेत रहेका सुर्खेतका गणेशमान खनाल पनि अध्यक्षमा इच्छा देखाएका थिए। तर, उनको उमेर हदका कारण पछि हटेका छन्। युवा संघमा रहनका लागि ४० वर्ष भन्दा मुनीको उमेर रहेकाे छ।

यस्तै, सचिवमा दैलेखका दिपक रिजालकाे दाबी रहेको छ। उनी यसअघि युवा संघका प्रदेश कमिटी सदस्य भएर काम गरेका छन्। रिजाल यस अधिवेशनकाे लागि प्रचार–प्रसार संयोजक समेत रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको पदाधिकारीका लागि केन्द्रीय कमिटीको सदस्य भएको, दुई पट्क जिल्ला अध्यक्ष भएको र प्रदेश कमिटीको पदाधिकारी भएको व्यक्ति प्रदेश अध्यक्षमा दावी गर्न पाउने छन्।

यस्तै, भदौ ६ र ७ गते हुने अधिवेशनमा नेकपा एमालेका महासचिव शंखर पोखरेल र युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको सहभागीता रहनेछ।

तपाईको प्रतिक्रिया