पहिरो नियन्त्रण गर्न भूतपूजा

blog
डोल्पा । त्रिपुराकोटको पुरानो सेजकुलो भत्किएपछि भूतपूजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका –१ त्रिपुराकोटस्थित मसानजाड तल्लोचुकेनीसम्मको ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि भूत रिसाएको भन्दै त्रिपुराकोटका स्थानीयले भूतलाई शान्त बनाउन पूजा गरेका हुन् ।

त्रिपुराकोटका एकसय २० घरधुरीले अक्षता ध्वजापतका र दक्षिण समेत उठाएर भत्केको सेजकुलोको माथिल्लो भागमा ८३ वर्षीय धनप्रसाद हमाल र तल्लो भागमा ८६ वर्षीय रविप्रसाद न्यौपानेको हातबाट पूजाआजा गरिएको हो ।

विक्रमसम्वत २००२ मा पनि सेजकुलो बनाउनेक्रममा मसानजाड भूत रिसाएर नवनिर्मित कुलो भत्काउनेगरेको र देवीदेवताको निर्देशनमा बोका, भालेसहित ध्वजापतका चढाएर पुजा गरेदेखि हालसम्म कुनै क्षति नभएको स्थानीय बयोबृद्ध धनप्रसाद हमालले बताउनुभयो ।

आव २०७९–८० को खानेपानी सिंचाइँ तथा उर्जा विकास कार्यालय डोल्पाको मातहतमा निर्माण उपभोक्ताले नयाँ कुलो निर्माण गर्नेक्रममा भूतपूजा नगरेकाले पटक पटक गरेर तीन पटक पक्की कुलो भत्केपछि स्थानीय धामाघाडी देवताले भूत रिसाएको र शान्तिपूजा नगरेसम्म सेजकुलो बलियो नहुने निर्देशन दिएपछि स्थानीयले २००२ पछि २०८० सालमा आएर दोस्रो पटक पूजा गरिएको टिकादत्त न्यौपानेले बताउनुभयो ।

भूत पूजामा सरिक स्थानीयले हाम्रो पुर्खादेखि सञ्चालनमा आएको सेजकुलो भत्केपछि धानलगायतका अन्नवाली पानी लगाउन नपाएर सुक्न थालेको गाउँको शोभा नै हराएकाले बाँध बलियो बनाइदेऊ कुनै विग्नबाधा नपरोस् भन्ने भाकल समेत गरेर पूजा गरिएको पुजारी टंकप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

भूतपूजा गरेपछि नवनिर्मित सेजकुलो बलियो भई सिंचाइँ सुविधा सहज हुने अपेक्षा स्थानीयले गरेका छन् । भूतपूजा गर्न त्रिपुराकोट गाउँका महिला–पुरुष समाजसेवीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया