हुम्ला । रादेउ, उनापानी र रिप गाउँमा ठूलो पहिरो जाँदा लाखौंको क्षति भएको छ । सदरमुकाम सिमकोटदेखि ३२ कोष दुरीमा रहेको सर्केगाड गाउँपालिका वडा–८ रादेउ, २ रिप गाउँ र ३ उनापानीमा शुक्रबार रातिको ठूलो वर्षासँगै पहिरो जाँदा पुल–पुलेसा, खेतबारी, घर र सडकहरुमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
एक सातादेखि वर्षा भइरहेकोमा शुक्रबार रातिको ठूलो वर्षासँगै पहिरो गएको हो । रादेउमा पुल–पुलेसा, घट्ट, काठेपुल र खेतबारी बगाएको हुँदा गाउँ नै जोखिममा परेको छ । स्थानीय रामबहादुर रोकायाको घरमा पहिरोले क्षति पुर्याएको स्थानीय प्रकाश ऐडीले बताए ।
रिपमा २३० घरधुरी रहेको र गाउँ वरपरका खेतबारीमा पहिरो जाँदा त्यहाँ रहेका सबै गाउँले नै त्रसित अवस्थामा रहेको स्थानीयले बताएका छन् ।
उनापानीमा भने तातोपानी लघुविद्युत् आयोजनाको पावर हाउसमै पहिरोले क्षति पुर्याएको छ । त्यस गाउँमा रहेका तातोपानीका कुण्डहरु सबै पुरिएका छन् । खानेपानीका मुहान पुरिनुका र २५, २६ हेक्टरमा लगाइएको धान खेत पहिरोले बगाएको स्थानीय एमबी थापाले बताएका छन् ।
निरन्तरको वर्षा र पहिरोको त्रासले उद्धार टोलीका लागि समेत सर्केगाड पुग्न हम्मेहम्मे परेको छ । जिल्लाबाट प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा ३० जनाको प्रहरी, लप्टन पवन पन्तको नेतृत्वमा २५ जना र सशस्त्र प्रहरी १५ जना गरि ७० जना बिहान सिमकोटबाट पहिरोको अनुगमन र पीडितहरुको उद्धारमा गएको प्रहरी निरीक्षक दीपक मल्लले कान्तिपुरलाई बताए ।
हाम्रो पहुँच संवाददाता । १३ श्रावण २०८०, शनिबार