पुस्तक समीक्षा : गाउँदेखि शहरसम्मको यात्रा !

आदरणीय गुरु कालीप्रसाद थापाको कृति हो ’गाउँदेखि शहरसम्मको यात्रा’ । गत जेठ ५ गते विमोचन गरिएको यो कृति पठनयोग्य र प्रभावकारी छ ।

मैले जीवनमा पहिलोपटक कसैको कृति विमोचन समारोहमा सहभागी हुने अवसर पाएको थिएँ । हुनत म कुनै साहित्यकार होइन तथापि साहित्यलाई प्रेम गर्ने मानिस भने अवश्य हुँ । म कुनै गतिलो स्रष्टा हुन त सकेको छैनँ तर पाठकको स्तरमा भने अगतिलो पनि छैन सायद । यदि म पनि लेखक साहित्यकार हुँदो हुँ त जीवनको यो क्षणसम्म थुप्रै कृति विमोचनको समारोहमा समाविष्ट भैसकेको हुन्थेँ र आफ्ना पनि कृतिहरु विमोचित भैसकेका हुन्थे । तर त्यो अवसर जुरेन भनेपनि कुनै गुनासो छैन किनकि कमी म आफ्नै हो । तथापि पहिलोपटक कोही स्रष्टाले मलाई आफ्नो कृति विमोचन समारोहमा उपस्थित भइदिनको लागि आग्रह गर्नुभयो । त्यो स्रष्टा नै हुनुहुन्छ कालीप्रसाद थापा । उहाँको यो आग्रह अनुग्रहप्रति म हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहान्छु । उहाँले मलाई साहित्यक व्यक्तिभित्र समायोजित हुन लायक ठान्नुभयो यसको लागि म ऋणी छु ।

पुस्तक विमोचन कार्यक्रममा उपस्थित भएसँगै मेरो हातमा पनि प¥यो उहाँको पुस्तक ’गाउँदेखि शहरसम्मको यात्रा’ । पहिलोपटक कसैको कृति विमोचनमा सहभागी हुन पाउनुको आनन्द त छुट्टै थियो त्यसैमा प¥यो कृति पनि हातमा । म गौरवान्वित र हर्षित भएँ । सायद त्यो पुस्तक अरु कसैको हुन्थ्यो भनेपनि म त्यति हर्षित हुने थिइनँ होला तर थापा म आफैलाई अध्यापन गराएको शिक्षक हुनुहुन्छ र मेरो लागि प्रिय अनि आदरणीय हुनुहुन्छ । तब उहाँको समारोहमा उपस्थित हुनुले र उहाँको सिर्जना प्राप्त गर्नुले ममा हर्ष नछाउने कुरै भएन । त्यही दिन हामी समारोह समाप्त गरेर जिल्लाको सदरमुकामदेखि गाउँ बारेकोट फर्कियौँ । उक्त पुस्तकका स्रष्टा थापा सर लगायत थुप्रै अरु सरहरु सहित म पनि फर्किएँ । आदरणीय स्रष्टासँगै थप आदरणीय गुरुवर अनि आफ्ना हितैषी प्रियवरको साथमा गरेको त्यो यात्राका पनि केही आफ्नै कठिनाइ त थिए नै तर त्यो दुर्लभ सौभाग्य आफैमा सुनौलो र सुन्दर पनि थियो ।

मभित्र एक अनौठो आकांक्षा थियो यो सानो पुस्तकलाई अध्यन गर्नमा । यो पुस्तकको आकार खासै ठूलो छैन । म चाहान्थेँ कि यो सानो पुस्तकलाई चाँडै अध्यन गरौं र यसका बारेमा केही लेखौँ तर मेरा पनि आफ्नै भागदौडका कारण यो दुई हप्तामा अध्यन गरेर सकिने पुस्तकलाई अध्यन गर्नमा मलाई दुई महिना नै लाग्यो । अध्यन गर्नमा ढिलाइ अवश्य भएको छ तर मेरो गुरुको कृति मैले अध्यन गर्न पाएँ यसमा मेरो खुशी अव्यक्त र अपार छ । तब मैले यो लामो समय लगाएर पढेको छोटो पुस्तकको बारेमा छोटो चर्चा र समीक्षा गर्ने आज जमर्को गरेको छु । म यो पुस्तकको चर्चा गर्ने, समीक्षा गर्ने हैसियतको मान्छे हुँ या होइन त्यसको बारेमा भने स्वयं स्रष्टा तथा तमाम पाठकहरुले ठम्याउनुहोला तर मैले चाहिँ यो धृष्टता गरेँ, जे परे पर्ला । यदि केही परिहाल्यो भनेपनि त्यसको जिम्मा चाहिँ स्रष्टाकै हातमा छोड्दै, मैले गर्ने चर्चा र समीक्षामा केही त्रुटि हुनसक्छन् र त्यसमा अग्रिम क्षमायाचना गर्दै विषयवस्तुमा प्रवेश गरेँ ।

सर्वप्रथम त म यो पुस्तकको शीर्षकलाई उठान गर्न चाहान्छु र शाब्दिक संरचनागत तवरले अर्थ लगाउन चाहान्छु । यो पुस्तकको शीर्षक राखियो ’गाउँदेखि शहरसम्मको यात्रा’ जसले केवल यात्रा वृतान्त र सतही विशेषताको बारेमा चर्चा गर्ने सामार्थ्य राख्छ । जहाँ ’यात्रा’ शब्द जोडिएर आयो त्यहाँ केवल बोल्ने पनि यात्राकै सन्दर्भमा हो, यात्राको वृतान्तभन्दा गहिरिएर साहित्यक प्रवाह यो शीर्षकले बोल्न सक्दैन जस्तो मेरो बुझाइ हो । यहाँ गाउँ र शहरलाई आरम्भ र अन्तका दुई विन्दुमा राखियो र बीचमा यात्रै यात्रा । तब सामान्यतया शीर्षकलाई नै हेरेर अध्यन गर्ने पाठकरुलाई लाग्ने छ कि यहाँ ठोस तथ्यगत विश्लेषणभन्दा गहन उत्रेर साहित्यक रस मिल्न सक्ने छैन । तब साहित्यक पाठकलाई यो कृति प्रतिको आकर्षणमा कमी पर्ने देखिन्छ । हुनत बिधा नै ’नियात्रा’ हो त्यसैले यसले बोल्ने पनि यात्रा नै हो तर यात्रामा पनि साहित्यकारहरुका यात्रा साहित्यक रसयुक्त नै हुनुपर्छ, ठोस सुख्खा पदार्थयुक्त होइन । यसको शीर्षकले यही मात्रै व्यक्त गरेको छ कि स्रष्टाले गाउँबाट थालनी गरेको यात्रालाई शहरसम्म पु¥याए र जे जति देखि त्यसैलाई शब्दमा उतारे । यसले केवल यति बोल्न सक्छ कि मार्गमा भेटिएका तथ्य र अनुभव मात्रै यस कृतिमा समाविष्ट छन् ।

यसकारण शीर्षकको आधारमा यो कृति अधुरो छ किनकि शीर्षक पूरा छ । तर यदि यो कृतिको समग्रतालाई शीर्षकमा राख्ने हो भने यसबाट अन्तिमको ’को यात्रा’ लाई हटाएर ’गाउँदेखि शहरसम्म’ राखिनुपर्थ्यो । अर्थात् शीर्षक अधुरो राखिनुपर्थ्यो । यसले गाउँ र शहरका सारा आयामहरुको वकालत गर्न सक्थ्यो भन्ने मेरो मान्यता हो । तर मेरो मान्यतामै सबैजना सहमत हुनुपर्छ भन्ने चाहिँ केही छैन । यो कृतिको आरम्भ मीठो साहित्यक बिम्बको र प्रयोग र साहित्यिक रसको उर्लनबाट भएको छ । जब यो ’नियात्रा’को आरम्भ हुन्छ तब पाठकलाई एकै झड्कामा आफूभित्र खिच्न सक्छ, तान्न सक्छ, जकड्न सक्छ । तर यो प्रवाह लामो समयसम्म भने टिक्दैन, टिकेको छैन । किनकि जत्तिको साहित्यक उर्लन आरम्भमा छ उत्तिकै उर्लन निरन्तर कायम छैन । यो पुस्तकले आरम्भमै उठान गरेको छ कि एक निश्चित विन्दुमा पुगेको मानिसले, निश्चित मुकाममा पुगेको मनस्थितिले अनि निश्चित आयुमा पुगेको हृदयले भविष्यको खोज र अनुष्ठानको निम्ति आफूलाई कतिसम्म केन्द्रित गर्न सक्छ । नवीन पुस्ताका नवीन मनस्थितिले नवीन भविष्यको खोजको लागि स्वयंलाई कतिसम्म समर्पित गर्न सक्छ र कसरी भविष्यको यात्रा थालनी गर्न सक्छ ।

यसमा उठान गरिएको छ कि जो शिक्षाको क्षेत्रमा आफ्नो भविष्य खोज्छन् ती कलिला मनस्थितिहरुले स्वनिर्णयको लागि कसरी कस्तो भुमिकामा उत्रन सक्छन् । यसमा स्रष्टाले केवल आफ्नो बारेमा बोल्नुभएको छैन बरु उहाँजस्ता तमाम शिक्षाप्रेमिको नियति र परिस्थिति बोल्नुभएको छ । उहाँले केवल आफ्नो परिस्थिति र मनस्थितिलाई साभार गर्नुभएको छैन बरु तमाम स्वप्नदर्शी र भविष्य खोजकर्ताको प्रतिनिधित्वमा स्वयंलाई उभ्याउँदै ती तमाम अव्यक्त आवाज र हृदयको प्रतिबिम्ब बन्नुभएको छ ।विश्वले कुनातिर पारेको देशले पनि अझै कुनातिर पारेको जिल्ला र जिल्लाकै कुनातिर परेको गाउँबाट उच्च शिक्षाको खोजमा जानसक्ने हैसियत राख्ने अल्पभन्दा अल्पसंख्यक पात्रहरुको नियतिको साक्षी उहाँले यो कृतिलाई बनाउनुभएको छ ।

तत्कालीन समाजको औसत जनसमुदायभन्दा उच्च हैसियत राखेर उच्च शिक्षाको अवसर पछ्याउन शहर पसेपनि यी उच्च हैसियत हुनेहरूलाई पछ्याउने नियति र परिस्थिति चाहिँ उच्च थिएन भन्ने पनि यो पुस्तकको अर्को पक्षको वकालत हो । देशको आर्थिक भौतिक परिस्थिति र तत्कालीन माओवादी शस्त्र जनयुद्धले थिलोथिलो पारेको परिस्थितिलाई छिचोल्दै, प्राण हत्केलामा राखेर भोलिको सुरक्षीत भविष्य खोज्न निस्कनु पनि कमता ठूलो हिम्मत थिएन भन्ने सन्देश पनि यसमा व्याप्त पाइन्छ । एकातिर सत्ता र राज्यको सर्वपक्षीय रुपान्तरणमा माओवादी क्रान्ति उर्लिएको थियो भने अर्कातिर जीवनको क्रान्ति गर्न निस्किएका यस्ता तमाम प्रगतिप्रेमिहरुले भोग्नुपरेको दशाको साक्षी पनि यो पुस्तक छ । यहाँ सर्वपक्षीय रुपान्तरणको लागि छेडिएको क्रान्ति नै जीवन रुपान्तरणको क्रान्तिको एक प्रमुख बाधा थियो ।

केवल शैक्षिक यात्रा र भोगिएको परिणति मात्रै होइन बरु स्रष्टाले मातृत्वको महिमालाई पनि यथेष्ट उजागर गर्नुभएको छ । उहाँले व्यक्त गर्नुभयो कि सन्तानको उपस्थिति र अनुपस्थितिमा आमाको मनोविज्ञानले कसरी प्रतिक्रिया दिन्छ । सन्तानप्रतिको मातृत्वको अनुरक्त हृदयले कसरी काम गर्छ । उहाँले यस कृति मार्फत केवल आफ्नी आमाको मात्रै होइन र केवल नेपाली आमाको मात्रै होइन बरु समग्र आमा जातीकै अनुरागमय हृदयको बखान गर्नुभएको छ भने अप्रत्यक्ष रुमपा समग्र सन्तान जातीलाई आफ्ना जनक जननीप्रति हमेशा श्रद्धावान् र निष्ठावान् रहने निर्देशन समेत गर्नुभएको छ । साथै परिवारप्रतिको प्रेम र जिम्मेवारी समेतको गतिलो उठान गर्नुभएको छ ।.

साथै उहाँले मस्टा, भँयार आदि थानेमाने देवताहरुको नाम समेटेर आफ्नो भेगीय सांस्कृतिक धरोहर र सांस्कृतिक पद्धतिको वकालत पनि गर्न भुल्नुभएन । कहिँकतैबाट यो कृति अझै संकुचित छ कि जस्तो देखिन्छ अवश्य । किनकि यसको शीर्षकले नै कृतिलाई संकुचित बनाएको छ भने अर्कोतिर स्रष्टाले संस्थागत अध्यन र किताबी सेरोफेरोलाई अधिक प्रधानतामा राखेर लेखेको हुँदा पनि यो संकुचित नै देखिन्छ तथापि यसो होइन । यो कृतिले तत्कालीन सामाजिक दृष्टिकोण, तत्कालीन आर्थिक परिस्थिति, तत्कालीन राज्य संयन्त्र र तत्कालीन शस्त्र जनयुद्धलाई समेत खुलेर वर्णन गरेको छ । अझै यसले पाँचकाटीयाको वस्तीलाई यसरी उभ्याउन सफल भएको छ कि जहाँ तत्कालीन शस्त्र जनयुद्धको जर्जर ध्वंसात्मक परिणामलाई हामीले यही कृतिमा जस्ताको तस्तै देख्न सक्छौं ।

यो पुस्तक एकाकी छ । अर्थात् यो केवल ’म’ र ’मेरो’ को सेरोफेरोमा घुमेको छ । ’म’ र ’मेरो’ को अस्तित्वलाई उच्च प्रधानतामा राखेको छ । तर त्यही म र मेरोको सेरोफेरोमा नै समग्र राजधानी र त्यहाँको परिवेश समेत अटाएको छ । राजधानीले बोकेका तीता – मीठा, सुन्दर – असुन्दर, श्वेत – अश्वेत, श्लील – अश्लील सबै किसिमका यथार्थताको यथेष्ट अस्तित्व समाविष्ट छ । म’को अस्तित्वभित्र नै समग्र राजधानीको यथार्थतालाई व्यक्त गर्ने ढंग पनि कम श्रेयको हकदार होइन । तर मैले देखे अनुसार र मैले बुझे अनुसार ’म’ अस्तित्वको विस्तृत उजागर हुँदै गर्दा देश र राजधानीको अस्तित्वलाई भने उजागर गर्नमा कतै कमी पारियो कि जस्तो बोध भएको छ । तर साहित्यक धारा एक धारमा बहन्छ, त्यो मेरो सोचाइ र बुझाइभन्दा परको कुरा पनि हो । साहित्य स्वतन्त्र बिधा हो, तब सर्जकको बिचार र भावनाको दिशामा यसको प्रवाह हुन्छ । नकि मेरो बिचारको दिशामा । म केवल पाठक बन्न सक्छु तर यो कृतिलाई अर्को धारामा लैजानको निम्ति न मेरो हक रहन्छ न सामार्थ्य नै । बस् बिचारको कुरा हो पोखिदिएँ ।

खुल्ला राजधानीको वृहत् कठिनाईयुक्त जीवनको सकसपुर्ण यात्राको वर्णन स्रष्टाले यसरी गर्नुभएको छ कि जो वर्णन देशभरबाट राजधानी प्रवेश गर्ने मध्यमवर्गीय र निम्नवर्गीय बहुसंख्यक विद्यार्थीहरुको नियतिको प्रतिनिधि बनेको छ । त्यहाँका दुःख, पीडा, अभाव र संकुचित जीवनको प्रतिनिधि बनेको छ । त्यहाँको तीतो यथार्थ बोकेर स्रष्टा स्वयं नै यो कृतिको माध्यमबाट उभिनुभएको छ । राजधानीको राजनीति, सामाजिक धरातल अनि जीवनका कैयन उतारचढावहरुको उहाँले इमानदारीतापुर्वक खुलेरै वर्णन गर्नुभएको छ । यसमा न कसैको चाकरी चाप्लुसी छ न कसैको जयजयकार । बस् हो या होइन, छ या छैनको नतिजामा उहाँको लेखन छ भने अन्ततः उहाँले राजधानीदेखि गृह जिल्लासम्मको यथार्थता तथा सम्भावनाहरु पनि जोड्न भुल्नुभएन ।

तत्कालीन जाजरकोटको महामारीको परिवेशमा सो महामारीलाई नियन्त्रण गर्नको लागि राजधानीबाट उहाँ लगायत उहाँका सहयोद्धा साथीहरू तथा राजनीतिक दलका अगुवाहरुको प्रत्येक्ष भुमिका के र कस्तो रह्यो भन्ने बारेमा पनि उल्लेख गर्नुभएको छ । यसबाट अर्को कुरा के उद्घाटित हुन्छ भने उहाँ केवल साहित्यप्रेमी मात्रै होइन बरु समाजप्रेमी पनि उतिकै हुनुहुन्छ । यी सबै उहाँको यो कृति तथा स्वयं स्रष्टाका समेत सबल पक्षहरु हुन् ।

कुनैपनि कुरामा दुबै पक्ष विद्यमान हुनेछन् अवश्य । जस्तो कि सकारात्मक र नकारात्मक । धनात्मक र ऋणात्मक । अँध्यारो र उज्यालो सबै । यो कृतिमा पनि केही ऋणात्मक अथवा नकारात्मक पक्षको पनि खोज गर्नुपर्ने हुन्छ । तर मैले देखेसम्म र बुझेसम्म यहाँ कुनै नकारात्मकता देखिदैन । यदि छ भनेपनि त्यो गौण हुनसक्छ तर प्रत्येक्ष छैन । तथापि म आफ्नो विवेकले भ्याएसम्म खोजी त गर्नै पर्ला ।

सबैभन्दा पहिलो कुरा यो होकि उहाँले यो कृति उपन्यासको ढाँचामा लेख्न खोज्नुभएको थियो तर यो उपन्यास बन्न सकेन । किनकि मलाई लाग्छ यसमा साहित्यक धारा त्यति प्रबल र सामानान्तर रुपमा बग्न सकेन । जसरी मानिसको जिन्दगी एक लयमा चल्न सक्दैन । जसरी मानिसका भोगाइहरु एक लयमा बग्न सक्दैनन् त्यसैगरी यो कृतिमा साहित्यक प्रवाह पनि एक लयमा बग्न सकेन । कुनै ठाउँमा साहित्यक रस भरिलो रह्यो भने कुनै ठाउँमा साहित्यक रस सुख्खा रह्यो । अर्थात यसमा साहित्यक प्रवाह नदिको रुपमा नभएर खहरेको रुपमा भयो । कहिल्यै ह्वात्तै बढ्ने अनि कहिल्यै ह्वात्तै सुक्ने । अनि अर्कोतिर यसको कथावस्तु कुनै ठोस नतिजामा पुग्न सकेन । अर्थात् औपन्यासिक धाराले कथाको समग्रताको अस्तित्व उठान गर्छ तर यहाँ कतै यसले त्यो समग्रतालाई बोक्न सकेन ।

केवल यात्राको सेरोफेरोमा दौडिरह्यो । जति धेरै स्रष्टा आफ्नो आजसम्मको जीवनकालमा दौडिनुभयो उति धेरै उहाँको सिर्जना पनि दौडियो र उहाँ रोकिएसँगै रोकियो । अन्ततः स्रष्टा एक पेसागत परिणतिमा उभिनुभयो र उहाँको सिर्जना पनि त्यहीँ पुगेर उभियो । तब यो कृति उपन्यास बन्न नसकेर नियात्रा बन्यो । तथापि यसले कतै–कतै औपन्यासिक झलक दिन भने चुकेको छैन ।

पढ्दै जाँदा कहिँकतै मैले भावरहित, अर्थरहित र निर्णयरहित वाक्यांश पनि भेटेको थिएँ । साहित्यकारका प्रत्येक वाक्यांशहरु काव्यात्मक, भावात्मक र निर्णयात्मक हुनुपर्छ । उनले जे लेख्छन् जे बोल्छन् ती प्रत्येक शब्दहरुले लयवद्ध रुपमा यथार्थता र मिठासपुर्ण ढंगले अलंकार बोल्नुपर्छ । चाहे वक्तव्य वा उद्धृत प्रसंग जस्तो होस् तर व्यक्त गर्ने शैली भने अलंकारिक हुनुपर्छ जस्तो मलाई लाग्छ । जुन कुरा यो कृतिमा कमै देख्न पाइन्छ । हुनत सोझो र सरल ढंगले लेख्नुको जुन सहजता छ त्यो पाठकहरुको लागि समझमा सहजता पनि ल्याउँछ । निबन्धको शैलीमा लेखिएको प्रसंग जति नै गहन भएपनि बुझ्नलाई सहज छ पाठकको निम्ति तर साहित्यक खुराक चाहानेहरुको निम्ति चाहिँ केही अधुरो र अपूर्ण लाग्नेछ ।

कृतिको अनततिर यो पुर्णतः निबन्धात्मक देखिएको छ । जहाँ घटनाक्रमको सहज सरल उल्लेख हुनुको साथै साहित्यक धाराको विलोपन देखिन्छ । साहित्यक रस र अलंकारहरुको प्रयोग नभएको हुँदा पाठकहरुमा यसको साहित्यक मिठास पर्याप्त नहुनसक्छ र साथै पठनप्रतिको आकर्षण ऋणात्मक हुन जान्छ । यसर्थ आरम्भमा जुन साहित्यक प्रवाहको उठान थियो अन्तसम्म पनि त्यो कायम रहन सकेको भए यो सुनमा सुगन्ध हुने थियो र पाठकहरुमा एक मीठो व्यञ्जन बन्ने थियो भन्नेमा मेरो मत छ । तथापि यो कृतिले उठान र उद्घोष गरेका विषय प्रसंगहरु अधुरा भने कतै छैनन् । अझै यसले बारेकोटको सम्भाव्यताको उल्लेख जुन तथ्यांकपरक र निबन्धात्मक तवरले ग¥यो त्यसले यसको साहित्यक रङ्गलाई मधुरै बनाइदियो, साहित्यक कोसेलीलाई अधुरै बनाइदियो ।

यसको अर्थ यो होईन कि यो गलत छ तर यतिमात्र होकि यसले साहित्यक दिशा रुपान्तरण गरिदियो । साहित्यक बिधा बदलिएको छ । सकेसम्म त उचित हुन्थ्यो कि बारेकोटको सांस्कृतिक, आर्थिक, भौतिक, जातीय, राजनीतिक यावत तत्वहरुको यहाँ उल्लेख नै नहोस् । किनकि यो पक्षहरूले तथ्यांकपरक शैलीको माग गर्छन् भने पुस्तक चाहिँ औपन्यासिक धारा दिन चाहान्थ्यो । तब यहाँ यो दुई धाराको बेमेलले कृतिको सौन्दर्यमा केही कमी ल्याएको छ । त्यसैले उचित थियो कि यो सबै थोकको समावेश नै नहोस् यदि भैहाल्यो भने पनि प्रस्तुतिकरणमा औपन्यासिक धारा हुनुपर्थ्यो । हुबहु टिपोटले औपन्यासिक साहित्य पुर्ण हुन दिदैन ।

औपन्यासिक या कुनैपनि कृतिको ठोस उदेश्य हुनुपर्छ । साहित्यले रुपान्तरण बोल्नुपर्छ । साहित्यले क्रान्ति बोल्नुपर्छ । साहित्यले प्रेरणा बोल्नुपर्छ । प्रेरणा र क्रान्तिको निम्ति साहित्य चिच्याउनु पर्छ, घोक्रो फुट्नेगरी कराउनुपर्छ । तर मैले यो कृतिमा प्रेरणा र क्रान्तिको कमी पाएँ । यसले पाठकहरुलाई यथार्थमा के दिन खोजेको हो भन्ने नै निश्चित गर्न सकिनँ । मैले ठम्याउन सकिनँ कि यसले कुन क्रान्ति र कुन सन्देश बोकेर फुलेको हो । साहित्यको यो सुन्दर फुलले कुन सुगन्ध फैलाउन खोजेको हो त्यसको एकिन मैले गर्न सकिनँ । हुनसक्छ यो मेरो संकिर्ण मनस्थितिकै समस्या हो । मैले रुपान्तरणको सन्देश नपाउनुमा, मैले क्रान्तिको सन्देश नपाउनुमा हुनसक्छ मेरै बुझाइको अभाव हो ।

तापनि मैले शैक्षिक यात्राको जिउँदो अनुभव भने तमाम पाएको छु । म आफैले पनि भोगेका तमाम नियतिहरुको यथेष्ट चित्रण पाएको छु र शैक्षिक गन्तव्यमा भविष्य खोज्न निस्कनेहरुको लागि यथार्थताको मार्गदर्शन पाएको छु । चाहाना राख्नेहरु पाउनुका हकदार हुन्छन् भन्ने पाएको छु । मैदानमा उत्रनेहरुले जित्न सक्छन् भन्ने सन्देश पाएको छु । यसकारण मैले यो कृतिमा पुर्णता पाएको छु । मैले मेरो बोधो मनस्थितिले जतिसम्म बुझ्नसकेँ त्यतिसम्मको चर्चा र समीक्षा गरेँ । तर मेरो यही चर्चा र समीक्षा नै पुर्ण हुनसक्दैन । खोज्ने हो भने यसमा अझै पुर्णताहरु तमाम पाइनेछन् । यसकारण म भन्न सक्छु कि यो पुर्ण कृति हो । अन्तमा म समग्र शिक्षाप्रेमीहरुलाई, समग्र शैक्षिक भविष्यको खोजकर्ताहरुलाई, समग्र नवीन शिक्षार्थीहरुलाई यो कृति ’गाउँदेखि सहरसम्मको यात्रा’ अनिवार्य पढ्नको निम्ति आग्रह गर्दछु र साथै यो कृतिको भव्य सफलताको निम्ति आत्मादेखि नै शुभेच्छा पनि प्रकट गर्दछु ।

अँ बिर्सिएछु, उहाँले साहित्यको अध्यन गर्नुभएको होइन न त साहित्यको अध्यापन नै गर्नुहुन्छ । उहाँ त पाठ्यक्रमको विद्यार्थी र पाठ्यक्रमकै शिक्षक पो हुनुहुन्छ । तर साहित्यप्रतिको गज्जबको माया र झुकावको कारण यतिसम्म लेख्न हिम्मत गर्नुभयो, यतिसम्म सिर्जना गर्न हिम्मत गर्नुभयो र यतिसम्मको एउटा सिर्जनाको पोको पारेर साहित्यप्रेमी र पाठकहरुलाई पस्किन हिम्मत गर्नुभयो भने योभन्दा ठूलो प्रेरणा र गौरव हाम्रा लागि अरु के हुन सक्छ र । योभन्दा गतिलो क्रान्ति अर्को के हुनसक्छ र । उहाँको योभन्दा सशक्त विद्रोह अर्को के हुनसक्छ र ।

कालीप्रसाद थापाको यो यात्रा अविराम अग्रपंक्तिमा बढिरह्यो भने एकदिन जाजरकोटी साहित्य या कर्णाली साहित्य मात्रै होइन नेपाली साहित्य जगतकै एक चम्किलो तारा हुनुहुनेछ । मैले देखेको यो भविष्य हामीले चाँडै बोध पनि गर्न पाइयोस् र समग्र जाजरकोटले, समग्र कर्णालीले अनि समग्र देशले बोध गर्न पाओस् भने थप शुभेच्छाको पुष्पगुच्छा समेत अर्पण गर्दछु ।

तपाईको प्रतिक्रिया