कर्णाली शिक्षालय संरक्षण गर्न तीनै तहका सरकार लाग्नुपर्छ : मन्त्री सिंह

जुम्ला : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कर्णाली प्राविधिक शिक्षालय संरक्षणमा जुट्न तीनै तहका सरकारलाई आह्वान गरेका छन्। कर्णाली प्राविधिक शिक्षालय जुम्लाको ४३ औँ वार्षिक उत्सवको अवसरमा उनले यस्तो बताएका हुन्।

पछिल्लो समयमा शिक्षालय बजेट अभावले भौतिक संरचनाको विकास हुन सकेको छैन। जीर्ण बन्दै गएका भौतिक संरचना र आर्थिक अभावका कारण थलिँदै छ। २०३७ सालमा मुलुककै जेठो शिक्षालयका रूपमा स्थापित भएको यो शिक्षालय अहिले तीनै तहको प्राथमिकतामा परेको छैन। कर्णाली प्राविधिक शिक्षालय जुम्लाले ४३ औँ वार्षिक उत्सवमा सहभागी हुन जुम्ला पुगेका योजनामन्त्री सिंहले स्थानीय तह, प्रदेश सरकार र संघ सरकार गरी तीनैवटा सरकारले शिक्षालयको समस्या समाधानका लागि दीर्घकालीन सोच राख्न जरुरी छ।

सबैका जिल्लाका बालबालिका अध्ययन गर्ने थलोका रूपमा रहेको शिक्षालयलाई क्षेत्राधिकार पर्दैन भन्दै पन्छिने अधिकार छ्रैन। मन्त्री सिंहले भने, ‘सबै कुरामा केन्द्र सरकारको दृष्टि पुग्न सकेको हुँदैन।’ रकम अभावका कारण जीर्ण बनिसकेका संरचना बनाउन आफ्ना तर्फबाट आवश्यक पहल गर्ने बताए।

त्यस्तै शिक्षालय प्रमुख टेकेन्द्रबहादुर थापाले सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्न सकेको खण्डमा कर्णालीको प्राविधिक शिक्षाको हब बनाउन सक्ने बताए। ‘पछिल्लो समयमा सरकारको ध्यान पुगेको छैन। न त स्थानीय बासिन्दाको चासो छ’, उनले भने, ‘शिक्षालय प्रशासनले मात्र रोइकराइ गरेर केही हुनेछैन। कर्णाली प्राविधिक शिक्षालय स्थापना भएको ४३ वर्ष पुगेको छ।’

प्रमुख थापाले कर्णालीकै प्राविधिक जनशक्ति उत्पादन गर्ने आधारशिलाको रूपमा रहेको शिक्षालय बजेट अभावले रन्थनिएको बताए। उनले भने, ‘यहाँ उत्पादित जनशक्तिले देशभर छरिएर सेवा दिइरहेका छन्। गुणस्तरीय सेवा दिइरहेका छन्।’

शिक्षालयको वार्षिकोत्सवमा सहभागी राजनीतिक दल, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले कर्णाली प्राविधिक शिक्षालयको जीर्ण संरचना निर्माणमा सबैले पहल गर्ने वचन दिएका छन्। त्यहाँ बोल्ने सबै वक्ताले शिक्षालयको शैक्षिक र पूर्वाधार विकासमा हातेमालो गरेर बढ्ने बताएका छन्।

त्यस्तै कुनै वेला ढुंगाको सिलोट छापिएका यहाँका भवनमा अहिले जस्तापाता प्रयोग गरिएको छ। कर्णाली प्राविधिक शिक्षालय शिक्षा आर्जन गर्ने थलो मात्र थिएन, जुम्लाको शैक्षिक पर्यटन गन्तव्य पनि थियो। आन्तरिक पर्यटकको रोजाइ बन्ने शिक्षालय अहिले थला परेको छ।

तपाईको प्रतिक्रिया