जाजरकोट । जिल्लाको भेरी नगरपालिका —०३ का जयबहादुर खत्रीले आफ्नो जन्मदिनको अवसरमा बालबालिका उद्दार केन्द्रका २२ जना बालबालिकालाई खाद्यान्न वितरण गरेका छन् । शनिवार बालबालिका उद्दार केन्द्रको कार्यालयमा पुगी खत्रीले चामल, तेल, सहित शैक्षिक सामग्री वितरण गरेका हुन् ।
पछिल्लो समय ठूलो खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढेको अवस्थामा खर्चलाई सदुपयोग गर्दै बालबालिका उद्दार केन्द्रमा खाद्यान्न वितरण गर्नु निकै प्रशंसनीय कार्य भएको बालबालिका उद्दार केन्द्रका अध्यक्ष लालबहादुर नेपालीले धन्यवाद सहित जन्मदिनको शुभकामना व्यक्त गरे ।
खत्रीले आफुले यसभन्दा पहिलेका जन्मदिनहरुमा साथीहरु सँग रमाईलो गरेर मनाएको बताउँदै अहिलेको जन्मदिनमा बालबालिकाहरुलाई राहत वितरण गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले भने, ‘जन्मदिनमा पाटी गरेर मात्रै धेरै पैसा खर्च भएको छ, अहिलेको जन्मदिनमा विपन्न, टुहुरा र गरिब बालबालिकालाई खाद्यान्न वितरण गर्न पाउँदा निकै हर्ष लागेको छ ।’
बालबालिकाहरुलाई थोरै भएपनि राहत पुगोस् भन्ने विश्वास लिएको खत्रीले बताए । बालबालिका उद्दार केन्द्रका बालबालिका र अन्य कर्मचारी तथा शिक्षकहरुले खत्रीलाई जन्मदिनको शुभकामना सहित धन्यवाद व्यक्त गरे । भेरी नगरपालिका १ कालेगाउँका खत्रीले अहिले सदरमुकाम खलंगामा जयकृष्णा पोल्टी सप्लार्यस सञ्चालन गर्दै आएका छन् । जिल्ला भरीका कुखुरापालक किसानहरुलाई ह्याचरी मार्फत चल्ला पठाउँदै आएका छन् । आफ्नो जन्मदिनको अवसरमा उद्दार केन्द्रका बालबालिकाहरुलाई राहत वितरण गर्नु निकै राम्रो काम भएको पत्रकार प्रेम विश्वकर्माले बताए ।
बालबालिका उद्दार केन्द्रमा अहिले २२ जना बालबालिकाहरु रहेका छन् । उनीहरुका कसैको आमा, छैनन्, कसैका बुवा छैनन्, कुनै बालबालिका आमाबुवा दुवै छैनन् । ‘बालबालिकाहरुलाई खाद्यान्न कसरी व्यवस्था गर्ने भन्ने चिन्ता लागिरहन्छ, अरु विद्यार्थीहरुको शुल्क बाट यताको खर्च टारिरहेको छु अध्यक्ष लालबहादुर नेपाली भने, ‘सरले अहिले दिएको खाद्यान्नले केही महिना सम्म टेवा पुग्नेछ, निकै मनकारी व्यक्ति हुनुरहेछ, धन्यवाद सर ।’ अन्य सहयोगी मनहरुलाई सहयोगका लागि नेपालीले अपिल समेत गरे ।
हाम्रो पहुँच संवाददाता । ६ श्रावण २०८०, शनिबार