राष्ट्रिय पुरुष भलिबल टिमको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त


काठमाडौं । मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् ।

नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

सन् २०१५ मा मानबहादुरले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन् ।

गएको महिना मात्र नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाईएपछि श्रेष्ठलाई नियुक्त गरिएको हो ।

काठमाडौंमा भर्खरै सम्पन्न सातौं एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशान भंग गरेको आरोपमा थापा कप्तानबाट हटाईएका हुन् ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर पुरुष भलिबल टोलीको ११ औं कप्तान हुन् । मानबहादुरले आर्मीको कप्तानी पनि गरिसकेका छन् ।

एसियन गेम्समा मानबहादुरको कप्तानीमा नेपालले प्रतियोगिता खेल्ने छ ।

तपाईको प्रतिक्रिया