काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७९/८० मा भ्रष्टाचारसँग सम्बन्धित २० हजार ३ सयभन्दा धेरै उजुरी परेका छन् । आयोगका अनुसार एक बर्षमा विभिन्न माध्यमबाट २० हजार ३ सय ६८ वटा उजुरी परेका हुन् ।
आयोगमा अघिल्लो वर्षबाट ७ हजार १६२ वटा उजुरी सरेर आएको र गत आर्थिक वर्षमा सम्पूर्ण उजुरीको ६६ प्रतिशत फर्छ्यौट गरिएको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ७० प्रतिशत उजुरी फर्छ्यौट गरिएको थियो ।
यस्तै गत आर्थिक वर्षमा १ हजार ७३ वटा उजुरी विस्तृत अनुसन्धानमा गएका पनि अख्तियारले जनाएको छ । गत आर्थिक वर्षमा १६२ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ । जसमा जम्मा ७६० जनालाई प्रतिवादी बनाइएको छ ।
गैर कानुनी लाभ हानिका सबैभन्दा धेरै ६४ वटा, घुस लिएका ३२ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीका २७ वटा, गैर कानुनी सम्पत्ति आर्जनका १३ वटा नक्कली शैक्षिक प्रमाण पत्रका ८ वटा, राजस्व हिनामिना ७ वटा र विधिका ११ वटा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
हाम्रो पहुँच संवाददाता । २ श्रावण २०८०, मंगलवार