जाजरकोट । प्रोत्साहन स्वरुप जाजरकोटका ३० जना कृषक पुरस्कृत भएका छन् । बेमौसमी तरकारी उत्पादन क्षेत्रफलका आधारमा १९ जना, कलमि विरुवा विक्री परिणामका आधारमा ७ जना र मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार बाट ४ जना किसान पुरस्कृत भएका हुन् । उत्कृष्ट किसानलाई विहीबार एक कार्यक्रमका बीच प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको छ ।
कर्णाली प्रदेश सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा र जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले पुरस्कार वितरण गरेका हुन् ।
बेमौसमी तरकारी उत्पादन क्षेत्रफलका आधारमा प्रोत्साहन कार्यक्रम बाट भेरी नगरपालिका ११ की ईश्वरी महतारा नगद २६ हजार सहित पुरुस्कृत भएकी छन् ।
उनीहरूले पनि जनही ९ हजार देखि एक लाख सम्म नगद सहित प्रमाणपत्र पाएका छन् । वास्तविक किसान नछुट्ने र नक्कली किसान नपर्ने गरी तथा पहिले पुरस्कृत भएका किसान नदोहोरिने गरी कार्यविधि तथा मापदण्डअनुसार किसानको छनोट गरिएको जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख महेश आचार्यले बताए ।
पुरस्कारले व्यवसायप्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको कुशे गाउँपालिका —०८ का कृषक देवबहादुर रोकायले बताए ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुने र उत्पादन वृद्धिमा टेवा पुग्ने बताए । सरकारको लगानीअनुसार कृषि र पशुपालन क्षेत्रबाट अपेक्षित उपलब्धि नभए र अव किसानहरुले जोड दिनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार बाट भेरी नगरपालिका ०१ का मनविरे राना पुरस्कृत भएका छन् ।
उनले तरकारी खेती गर्दै आएका छन् । सुन्तला खेतीतर्फ छेडाडाड नगरपालिका —१० का भक्तबहादुर पुन, आलु खेतीतर्फ नलगाड नगरपालिका —३ का हेमकुमार विष्ट, खाद्यान्न बालीतर्फ भेरी नगरपालिका —२ का खिमबहादुर शाह सम्मानित तथा पुरस्कृत भएका छन् । यस्तै सहकारी तर्फ छेडागाड —१२ को प्रगतिशील साना किसान कृषि सहकारी संस्था लिमिटेड सम्मानित भएको छ ।
हाम्रो पहुँच संवाददाता । २९ असार २०८०, शुक्रबार