एमालेले माग्‍यो प्रधानमन्त्री दाहालको राजीनामा

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ।

बुधबार राष्ट्रियसभा बैठक सुरू हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन्।

उनले आफूहरूको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राखे। नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने पटकपटक दोहोर्‍याए।

‘मलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा उहाँ पटकपटक दिल्ली जानु भयो। र, दिल्लीमा गएर उहाँले राजनीतिक वातावरण बनाउनु भयो भन्ने आशय र यहाँ नेपालमा पनि विभिन्न नेताहरूसँग छलफल गर्ने क्रममा उहाँले भूमिका खेल्नु भयो। एउटा भारतीय नागरिक, यहाँ ब्यापार, बिजनेश गर्ने हिसावले बसेको नागरिकले यहाँ देशका नेताहरूसँग समन्वय गर्छ। र, भारतमा गएर दिल्लीमा पनि नेताहरूसँग समन्वय गर्छ। र, प्रधानमन्त्री बनाउँछ।’

उनले भने, ‘त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ। उहाँले राजीनामा दिनु पर्छ। उहाँलाई यो देशको प्रधानमन्त्री हुने कुनै अधिकार छैन। हक छैन। जव उहाँ दिल्लीको इसारामा प्रधानमन्त्री बन्नु भएको हो भने नेकपा एमालेलाई त्यो स्विकार्य छैन। किनभने एउटा प्रक्रियाबाट प्रधानमन्त्री बन्छ। यो देशको नियम, कानुन अनुसार प्रधानमन्त्री बन्छ यसो हेर्दाखेरी। तर, के देखियो भने उहाँ त यो त देखाउने कुरा मात्रै रहेछ। यहाँ गणितको कुरा त देखाउने कुरा मात्रै रहेछ। त्यसकारण उहाँले तुरून्तै राजीनामा दिनु पर्छ। र, मार्ग प्रशस्त गर्नुं पर्छ। भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्विकार्य छैन। त्यसैले गर्दाखेरी प्रधानमन्त्रीले राजीनामा नदिउन्जेलसम्म यो बैठक अवरूद्ध गर्दर्छौं। र, यो बैठक संचालन गर्न दिँदैनौं। एमाले यो दृष्टिकोण राख्न चाहन्छु।’

नेता दाहालले प्रधानमन्त्री दाहाल स्वयम्ले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए। एमालेका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभा बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया