बजेटमा पक्षपात भएपछि मतदाताको अनुमति लिई वडाध्यक्षले दिए राजीनामा

घोराही : घोराही उपमहानगरपालिका-८ नं का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।

बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले मंगलबार मेयर नरुलाल चौधरीलाई राजीनामा बुझाएका हुन्। उनले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजीनामापत्र नगरप्रमुख चौधरीलाई बुझाई नगरसभाबाट बाहिरिएका थिए। निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धताअनुसार जनताको काम गर्न नसकेको भन्दै उनले राजीनामापत्रमा उल्लेख गरेका छन्।

मेयर चौधरीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा ‘वडावासीसामु गरेको प्रतिबद्धता पूरा गर्ने अवस्था नरहेकाले यो निर्णयमा पुगेको’ उल्लेख छ।

आफ्नो वडालाई मेयर चौधरीले बजेट दिने आश्वासन पटक पटक दिने गरेको तर त्यो आश्वासनमै सीमित भएको भन्दै वडाध्यक्ष शाहले असन्तुष्टि प्रकट गर्दै आएका थिए।

गत वर्ष स्थानीय चुनावमा शाह नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। घोराही उपमहानगरमा मेयर र उपमेयर पनि एमालेकै छन्।

‘गत स्थानीय तहको निर्वाचनमा आफू नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भई जनताको सेवाको काम गर्दै आइरहेकोमा आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम बाँडफाँडको विषयमा आफ्नो चित्त नबुझेको हुँदा आफूले वडाका जनतालाई गरेको प्रतिबद्धता पूरा गर्न नसक्ने भएकाले आत्मग्लानि हुँदा अध्यक्ष पदबाट राजीनामा दिने निर्णय गरेको हुँ’, उनले उल्लेख गरेका छन्।

वडाध्यक्ष शाहले बजेट कम भएको थाहा पाएसँगै राजीनामा दिने भनेर यसअघि सामाजिक सञ्जाल फेसबुकबाट घोषणा गरेका थिए। त्यसपछि उनले आफ्नो वडाका बासिन्दालाई बोलाएर आफूले बजेट हाल्न नसकेको बताउँदै राजीनामा दिनका लागि तयार भएको जानकारी दिँदै मतदातासँग सल्लाह तथा सुझाव लिएका थिए।

तपाईको प्रतिक्रिया