जनताको साझा प्रश्न : सरकार हाम्रो धारामा पानी कहिले आउँछ ?

पुर्खौ देखि चलन भोग गर्दै आएका मुहान तथा कुवाहरुको संरक्षण कसले गर्छ ?

तस्वीरमा : बारेकोट गाउँपालिका २ झारमौरी टोलका स्थानीय

जाजरकोट । गर्मी बढे संगै देशभरका अधिकांश ठाउँहरुमा खानेपानीको अभाव भएसंगै जाजरकोटको बारेकोट गाउँपालिकाका विभिन्न ठाउँहरुमा खानेपानीको अभाव हुन थालेको छ । कतै मुहान सुक्दै गएको छन भने कतै पानी लिनकै लागि घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता छ । वन जङ्गलको विनाश हुनु,जलवायु परिवर्तन हुनु स्थानीय मुहान तथा कुवाहरुको संरक्षण नहुनु लगायतका कारण खानेपानीका मुहान सुक्न थालेका छन् । साथै बढ्दै गएको वातावरण प्रदूषणका कारण समेत खानेपानीको क्षेत्रमा पनि निकै समस्या देखिन थालेको छ ।

बारेकोट गाउँपालिका वडा नं.२ का स्थानीय बासीहरुले पनि बर्षौं देखि खानेपानीको समस्या खेप्दै आएका छन् । निर्माण भएका आयोजनाहरु दिर्घकालिन नहुनु तथा स्थानीय मुहानहरुको सरंक्षण हुन नसक्दा उनीहरुले खानेपानीको समस्या खेप्नु परेको हो । खानेपानी समस्या सधानका लागि स्थानीय सरकार लच्कदार देखिएको स्थानीयहरुको भनाई छ ।

सरकारले खानेपानीका ठुला—ठुला आयोजना निर्माण कामलाई निरन्तरता दिएता पनि पुर्खौपुर्खा देखि चलन भोग गर्दै आएका खानेपानीका मुहानहरुको संरक्षणमा नगर्दा खानेपानीका मुहानहरु सुकेका कारण खानेपानीको समस्या खेप्नु परेको एक स्थानीयले बताए । उनले भने ‘जनप्रतिनिधि ज्यूहरु ठुला आयोजनाको पछि दौडनु भएको छ स—साना मुहानहरुको संरक्षण तर्फ ध्यान दिनु हुँदैन । यहाँ सबैका घरको आँगनसम्म खानेपानीको पाईप आउँछ,प्रत्येक बर्ष खानेपानी निर्माणका लागि योजना आउँछ,विडम्बना घरको आँगन सम्म पुगेको पाईपमा पानी कहिल्यै आउँदैन । हामी जनप्रतिनिधि ज्यूहरुबाट जवाफ चाहान्छौं । हाम्रो धारामा खानेपानी कहिले आउँछ ?’

यस वडामा फुलवारी खानेपानी,भैसामारे खानेपानी लगायत अन्य स—साना खानेपानीका आयोजनाहरु निर्माण भैसकेको छन् । मौराखारा खानेपानी लगायत नौफेरी सिँचाई तथा खानेपानी आयोजना निर्माणधिन अवस्थामा रहेको स्थानीयहरुले बताएका छन् ।
उनीहरुका अनुसार जति ठुला आयोजना निर्माण भएपनि यहाँका स्थानीयहरुले खानेपानी अभाव खेपिरहनु परेको पर्छ । उनीहरु भन्छन् यहाँ हामीले गरेका छौं भन्नका लागि मात्रै योजना निर्माण गरिन्छ,बास्तमा जनतालाई पानी खुवाउने उद्देश्यका साथ खानेपानीका आयोजनाहरुको निर्माण गरिदैन् ।’

सबैको साझा प्रश्न  : प्रत्येक बर्ष खानेपानी निर्माणका लागि योजना आउँछन्,प्रायः सबैका घरको आँगनसम्म खानेपानीको पाईप आउँछ, विडम्बना घरको आँगन सम्म पुगेको पाईपमा पानी कहिल्यै आउँदैन । सरकार हाम्रो धारा (पाईप)मा पानी कहिले आउँछ ?

तपाईको प्रतिक्रिया