काठमाडौं । नयाँ विदेशी फिल्म रिलिज नभएको छेकोमा नेपालको ‘अन्तिम संस्कार’ शुक्रबारदेखि हलमा लागेको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मलाई एकल प्रदर्शनको मौका छ । यो अवसरलाई ब्यापारमा बदल्न फिल्मसामु सकारात्मक ‘वर्ड अफ माउथ’को खाँचो छ ।
हराएको एक फिल्ममेकरलाई खोज्न जड्याहा प्रहरी अधिकृतको नेतृत्वमा चलाइएको अप्रेसनको कथा प्रस्तुत गर्ने यो फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । १२२ मिनेट लामो यो फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी लगायतको अभिनय छ ।
फिल्ममा विजयले बाबु र त्रिचन्द्रले छोराको भूमिका निर्वाह गरेका छन् । सो क्रममा उसले हिमाली क्षेत्रको परम्परागत पद्धति र द्वन्द्वसँग संघर्ष गर्नुपर्छ । बाबु र छोराबीचको सम्बन्धको कथा पनि यसमा बुनिएको छ । विदेशी फिल्म वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले यसलाई देशब्यापी प्रदर्शन गर्न लागेको हो ।
साई प्रोडक्सनको ब्यानरमा ह्याम्साएर एकाउन्टेन फिल्म निर्माणमा सहकार्य गरेको छ । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ छन् । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको फिल्मको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् ।
हाम्रो पहुँच संवाददाता । ८ असार २०८०, शुक्रबार