लखनथापा गाउँपालिकामा आज शोक बिदा


गोरखामा गएराती भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा लखनथापा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

गाउँपालिकाको उपप्रमुख इन्दिरा तिवारीले शुक्रबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवम् शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । शहिद लखन–३ को सिलिङकोटबाट बेहुली लिएर शहिद लखन गाउँपालिका-५ को ताक्लुङतर्फ फर्कने क्रममा प्रदेश नम्बर ३-०१-०२३ च ४४२७ नम्बरको जन्ती चढेको जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा शहिद लखन गाउँपालिका-५ ताक्लुङ पोखरी डाडाँ बस्ने १९ वर्षीय प्रविन थापा, २८ वर्षीय बिरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकी नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको थियो । जीप कच्ची सडकबाट २५० मिटर तल खसेको थियो ।

घाईतेमध्ये नौ जनाको तनहुँको आँबुखैरेनीमा रहेको अस्पतालमा उपचार भईरहेको र तीन जनालाई भने थप उपचारको लागि भरतपुर लगिएको छ । दुर्घटनामा मृत्यु हुने सबै शहिद लखन गाउँपालिकाका हुनुहुन्छ । उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदाको घोषणा गरिएको उपप्रमुख तिवारीले जनाउनुभयाे ।

तपाईको प्रतिक्रिया