काठमाडौं : प्रदेशका बहालवाला मन्त्री पृथ्वी बहादुर सिंहको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ। उनलाई बहालवाला सांसदसरह नै सम्मान प्रकट गर्दै आजको प्रतिनिधिसभा बैठकले सुरुमै शोक प्रस्ताव पारित गरेको हो।
सभामुख देवराज घिमिरेले मन्त्री सिंहको निधनको शोक प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश गरेका थिए। उनले पेश गरेको उक्त प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको हो।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको मंगलबार सवारी दुर्घटनामा निधन भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह सरकारी कामको सिलसिलामा मंगलबार दिउँसो डडेलधुरा जिल्लाबाट बझाङ जिल्ला जाने क्रममा बझाङको केदारस्यूँ गाउँपालिका १ जुवालीखेत, देउरामा मन्त्री सिंह सहित ५ जना सवार सु.प.प्र. ००१ झ. ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो।
सडकबाट करिब ५० मिटर तल खोला किनारमा खसेर भएको दुर्घटनामा मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको हो। अमृतादेवी र जयादेवीको प्राथमिक उपचारको क्रममा देउरास्थित रितु पोलिटेक्निकमा निधन भएको र मन्त्री सिंहलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज मेडिकल कलेज पुऱ्याइएकोमा उपचारको क्रममा बेलुका ५ बजेर ३३ मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो।
प्रतिनिधिसभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्नेछ।
हाम्रो पहुँच संवाददाता । ६ असार २०८०, बुधबार