कबिता : म बाटो मुनिको फूल !
कहिले बनाउछौ समाजलाई एकरुपता,
अहिलेसम्म पनि भेदभावको नाम निशान उस्तै छ ।
आज पनि मलाई दलित भन्छौ ।
मैले छोएको पानी पिउनु हुँदैन भन्छौ ।
अझै अछुतको संज्ञा दिएर दलित भन्छौ ।
खै किन हो मलाई तल्लो वर्गको हो भन्छौ ।
तिम्रो र मेरो रगत रातै छ तर मलाई अछुत भन्छौ ।
म जात व्यवस्थाले थिचिएको छु ।
समाजले गर्ने अत्याचारबाट सधैं पिडीत छु ।
यो कस्तो व्यवस्था हो आखिर मान्छेभित्र विभेद!
जातकै कारणले मैले कैयौं दिन रुनुपरेको छ ।
यो समाजले मलाई घात गर्नु गरेको छ ।
उदाहरण प्रशस्तै छन् तिमीले गर्ने,
भेदभावका काण्डहरू !
अशिक्षित छैनौ बुझेका छौ सबैले यहाँ ।
जानीजानी विभेद गर्ने सोच राख्छौ यहाँ ।
दलितलाई अछुत नै भन्नुपर्छ भन्छौ यहाँ ।
तिमीले नै बनायौ मलाई बाटो मुनिको फूल!
साँच्चै भनिदेऊ न अछुत बनायौ के गरेर भुल ?
जात व्यवस्थाका नारा लागिरहदा पनि बुझेनौ ।
बुझेर पनि बुझ यहाँ पचायौ तिमीले ।
अछुत भन्नुपर्छ भन्ने अस्तित्व बचायौ तिमीले ।
कहिलेसम्म म तिम्रो हैसियतमा आउन सक्छु ।
भन मलाई तिम्रो जवाफ चाहियो ।
तिमी किन अछुत भन्छौ अझैसम्म पनि,
तिम्रै कारणले त बन्न बाध्य भएको हुँ ।
म बाटो मुनिको फूल!
-विक्रम तिरूवा सलिन
जुम्ला
हाम्रो पहुँच संवाददाता । २ असार २०८०, शनिबार